भारतमा नागरिकता कानूनको विरोध तीव्र, दिल्लीमा मोवाइल इन्टरनेट बन्द, विरोध प्रदर्शन गर्न रोक
भारतमा नागरिकता संशोधन कानूनको विरोध प्रदर्शन तीव्र बन्दै गएको छ । विरोध प्रदर्शन उग्र बन्दै गएपछि केही इलाकामा मोवाइल इन्टरनेट सेवा बन्द गरिएको छ । कलिङ र एसएमएस सेवामा पनि रोक लगाइएको छ ।
दिल्लीका मंडीहाउस, सीलमपुर, जाफरावाद, मुस्तफाबाद, जामियानगर, शाहीनबाग र बवानामा सेवामा रोक लगाइएको हो ।
विपक्षी पार्टीहरूले आज भारत बन्दको आह्वान गरेका छन् ।
दिल्लीमा कांग्रेस नेता संदीप दीक्षित, उमर खालिद लगायत कयौं ठूला नेतालाई हिरासतमा लिइएको छ । यी सबै नेताले नागरिकता कानूनको विरोध गरिरहेका थिए ।
लालकिल्लाबाट योगेन्द्र यादवलाई हिरासतमा लिइएको छ । यसभन्दा पहिले बेंगलुरुमा रामचन्द्र गुहालाई हिरासतमा लिइएको थियो ।
भारतका कयौं क्षेत्रमा नागरिकता कानूनको विरोध चर्किदैं गएको छ । विरोध प्रदर्शन गर्न जनता सडकमा उत्रिएका छन् । प्रदर्शन तीव्र बन्दै गएपछि दिल्लीसमेत देशका कयौं भागमा संविधानको धारा १४४ लागू गरिएको छ । पूरै उत्तर प्रदेशमा धारा १४४ लागू गरिएको छ ।
प्रहरी आदेशको विपरीत सडकमा उत्रेका प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएका विवरणहरू आएका छन् । विरोध चर्किएपछि प्रधानमन्त्री मोदीद्वारा शान्ति कायम राख्न आग्रह गरिएको छ ।
केही स्थानमा प्रदर्शनहरू हिंस्रक भएका छन् । लखनउमा बसमा आगो लगाइएको छ । उत्तर प्रदेशका प्रहरी प्रमुख ओपी सिंहले मानिसहरूलाई विरोध प्रदर्शनबाट टाढै बस्न भनेका छन्।
चारजनाभन्दा बढी मानिसहरू जम्मा हुन रोक लागेको हो। प्रहरीले हिंसा हुन नदिन आदेश जारी गरेको बताएको छ।
तर उत्तर प्रदेश, ब्यांग्लोर, मुम्बई र दिल्लीमा विरोध प्रदर्शनहरू जारी छन्। नागरिक समूह, राजनीतिक दल, विद्यार्थी र नागरिकहरूले शान्तिपूर्वक विरोधमा सहभागी हुन सामाजिक सञ्जालबाट आग्रह गरिरहेका छन् । दिल्लीका केही मेट्रो स्टेशनहरू पनि बन्द गरिएका छन्।
पाकिस्तान, बंगलादेश, अफगानिस्तानका मुसलमान बाहेकका हिन्दू, बौद्ध, शिख जैन लगायतलाई नागरिकता दिने कानून संशोधन गरेपछि विरोध तीव्र बनेको छ ।
–एजेन्सी