अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित भएको छ ।
तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा गए राति महाअभियोग प्रस्तावमा मतदान भएको थियो । मतदानमा महाभियोगको पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत।
ट्रम्प हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्। यसअघि एन्ड्यु जोन्सन र बिल क्लिन्टनविरुद्ध महाअभियोग लागेको थियो ।
ट्रम्पमाथि व्यक्तिगत फाइदाका लागि युक्रेनलाई दबाब दिएको भन्दै शक्तिको दुरुपयोग र संसदमा बाधा पुर्याएको आरोपमा विपक्षी डेमोक्र्याटिक पार्टीले महाअभियोग प्रस्ताव गरेको हो ।
अमेरिकी तल्लो सदनमा डेमोक्र्याटिककै बहुमत छ । माथिल्लो सदनमा भने सत्ताधारी रिपब्लिकनहरुको बहुमत छ ।
तल्लो सदनमा महाअभियोग पारित भए पनि त्यसको निर्क्यौल माथिल्लो सदनले गर्ने भएकोले महाअभियोगबाट ट्रम्प पदमुक्त हुने सम्भावना भने कमै छ ।
ह्वाइट हाउसले एक वक्तव्यमार्फत सिनेटमा राष्ट्रपति निर्दोष साबित हुने कुरामा विश्वस्त रहेको बताएको छ।
यसअघि मंगलबार ट्रम्पले आफूविरुद्धको महाअभियोग ‘अमेरिकी प्रजातन्त्रमाथिकै खुला आक्रमण’ भएको भन्दै तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीलाई आक्रोशले भरिएको लामो पत्र लेखेका थिए ।
पेलोसीले उक्त पत्रले ट्रम्प बिरामी भएको पुष्टि भएको प्रतिक्रिया दिएकी थिइन् ।