रेमिटेन्स घटेको घट्यै, आयात घटेपछि शोधनान्तर बचतमा
वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स चालु आर्थिक वर्षको पहिलो चार महिना (कात्तिक) मा पनि घटेको छ ।
नेपाल राष्ट्र ब्यांकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु. ३ खर्ब ४ अर्ब ९७ करोड रेमिटेन्स भित्रिएको छ, जुन गत वर्षको यही अवधिका तुलनामा २ दशमलव ३ प्रतिशत थोरै हो ।
गत वर्षको यही बेला रेमिटेन्स २३ दशमलव १ प्रतिशतले बढेको थियो ।
गत वर्ष मलेसिया रोजगारी बन्द भएसँगै वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्नुले रेमिटेन्स आप्रवाहमा मूल रुपमा असर गरेको मानिएको छ । तर, योसँगै पुँजी पलायन, हुण्डी लगायतका कारणले पनि रेमिटेन्स भित्रिन कम भएको अनुमान गरिएको छ ।
कात्तिकसम्ममा नेपालको निर्यात २३ दशमलव ९ प्रतिशतले बढेर रु. ३६ अर्ब २८ करोड पुगेको छ, भने आयात ६ दशमलव ९ प्रतिशतले घटेर रु. ४ खर्ब ५० अर्ब ३० करोड पुगेको छ । निर्यातको दर बढ्दा पनि वैदेशिक व्यापारमा पहिलो चौमासिकमा नेपालले रु. ४ खर्ब १४ अर्ब घाटा बेहोरिसकेको छ ।
फलामको कच्चा पदार्थ एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाइजहाजका पाटपूर्जा, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।
आयात घटेपछि नेपालको शोधनान्तर स्थिति (भित्रिने र बाहिरिने रकमबीचको अन्तर) वचतमा पुगेको छ ।
यो अवधिमा शोधनान्तर स्थिति रु. २७ अर्ब २९ करोडले वचतमा छ । गत वर्ष यही अवधिमा शोधनान्तर रु. ५७ अर्ब ३३ करोड घाटामा थियो । चालु खाता घाटा पनि रु. ३७ अर्ब ३० करोडमा ओर्लिएको छ ।
राष्ट्र ब्यांकका अनुसार, कात्तिकमा मूल्यवृद्धि दर ५ दशमलव ७६ प्रतिशत छ । जुन अघिल्लो वर्षको यही अवधिमा ४ दशमलव १५ प्रतिशत थियो