टिप्पणी मंगलबार, पुस १, २०७६

के हाे आईएसओ ?

हिमालखबर

के हाे आईएसओ ?

विश्वव्यापी मान्यता हुने गरी गुणस्तरको एउटै मापदण्ड बनाउने उद्देश्यले स्थापित आईएसओका विभिन्न प्रमाणपत्रमध्ये गुणस्तर व्यवस्थापनको प्रमाणपत्र सबैभन्दा बढी रुचाइएको छ।

हरिहर गुरागाईं

नेपाल सरकारका विभिन्न निकायले आफू अन्तर्गत पर्ने वस्तु तथा सेवामा अनिवार्य गुणस्तर तोकेका छन् । देशभित्र कुनै पनि वस्तु तथा सेवा प्रदान गर्न यी निकायले तोकेको गुणस्तर कायम गर्नैपर्छ । अनिवार्य गुणस्तर बाहेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको गुणस्तर तथा नापतौल विभागले स्वेच्छिक गुणस्तर चिह्न पनि प्रदान र त्यसको नियमन गर्छ । विभागले गुणस्तर परीक्षण गरी प्रदान गर्ने चिह्नलाई नेपाल स्ट्याण्डर्ड (एनएस) भनिन्छ ।

सरकारले तोकेको अनिवार्य गुणस्तर भन्दा पनि अब्बल देखिन मात्रा, प्रणाली, उत्पादन, सेवा आदिका गुणस्तर प्रमाणीकरण गर्न स्वेच्छिक गुणस्तरको प्रयोग विश्वभरि नै प्रचलित छ । विभिन्न संघसंस्थादेखि निजी कम्पनीहरूसम्मले आ–आफ्ना स्वेच्छिक गुणस्तर तयार पार्ने गरेका छन् ।

जस्तै, विश्वप्रसिद्ध फास्टफुड कम्पनी म्याकडोनल्ड्सले आफ्ना रेस्टुरेन्ट सञ्जालमा हुनुपर्ने गुणस्तर र कच्चा पदार्थका आपूर्तिकर्ताले पालना गर्नुपर्ने मापदण्ड कायम गर्न आन्तरिक रूपमा गुणस्तर जारी गरेको छ । वस्तु मात्र होइन, विभिन्न संघसंस्थाले दिने सेवामा समेत गुणस्तर प्रमाणीकरण गर्ने चलन छ ।

वस्तु तथा सेवाको गुणस्तर प्रमाणपत्र दिने आईएसओबारे हामीले विज्ञापनहरूमा सुन्दै÷हेर्दै आएका छौं । विश्वव्यापी मान्यता रहेको स्वेच्छिक गुणस्तर प्रमाणपत्र बनाउने निकाय हो, यो । नेपालमा सन् २००० मा एउटा कम्पनी ‘आईएसओ ९००१ प्रमाणित’ भएको थियो । यसपछि धेरै कम्पनीले आईएसओका विभिन्न गुणस्तरका प्रमाणपत्र पाइसकेका छन् ।

विभिन्न देशमा रहेका गुणस्तरहरूलाई संयोजन गरी विश्वव्यापी मान्यता हुने गरी गुणस्तरको एउटै मापदण्ड बनाउने उद्देश्यले स्विट्जरल्याण्डको जेनेभामा सन् १९४७ मा इन्टरन्याशनल अर्गनाइजेसन फर स्ट्यान्डर्ड (आईएसओ) स्थापना भएको हो । यसले हालसम्ममा २० हजारभन्दा बढी गुणस्तर मापदण्ड बनाइसकेको छ । आईएसओले १६४ वटा देशमा २५० भन्दा बढी प्राविधिक समिति मार्फत सरकारी तथा गैरसरकारी तहमा समन्वय गरी गुणस्तर मापदण्ड निर्माण, विकास र संशोधन गरिरहेको छ ।

आईएसओ आफैंले कुनै पनि प्रमाणपत्र प्रमाणित गर्दैन । आईएसओका गुणस्तरहरू सम्बन्धन प्राप्त विभिन्न संस्थाले प्रमाणित गर्छन् । त्यसैले सोझै ‘आईएसओ प्रमाणित’ मात्रै भन्नु गलत हो । कुनै खाद्य पदार्थले आईएसओको खाद्य स्वच्छता मापदण्ड पूरा गरेर प्रमाणित भए ‘आईएसओ २२०००ः २०१५ प्रमाणित’ भन्न सकिन्छ ।

आईएसओले जारी गरेका गुणस्तरहरूलाई विभिन्न नम्बरले नामकरण गरिएको हुन्छ । गुणस्तरहरू समय समयमा परिमार्जन गरिन्छ र संशोधन गरिएको वर्ष पनि नामसँगै अन्तिममा खुलाइन्छ । आईएसओका मापदण्डमध्ये गुणस्तर व्यवस्थापन सम्बन्धी आईएसओ ९००१ः२०१५ विश्वमा सबैभन्दा बढी चलेको छ ।

गुणस्तर व्यवस्थापन सम्बन्धी आईएसओ लोकप्रिय हुनुको कारण यसका आठ वटा व्यावहारिक सिद्धान्त हुन्– उपभोक्ताकेन्द्रित, कुशल नेतृत्व, व्यवस्थापनमा कामदारहरूको सहभागिता, साधन र स्रोतको अधिकतम उपयोग, काम गर्ने तरिका र पद्धतिको विकास, निरन्तर सुधार, तथ्यको आधारमा व्यवस्थापकीय निर्णय र आपूर्तिकर्तासँग सहकार्य ।

नेपालमा सन् २०१८ को अन्त्यसम्ममा १४८ कम्पनी आईएसओका विभिन्न गुणस्तरबाट प्रमाणित भएका छन् । जसमध्ये सबैभन्दा बढी ९५ वटा कम्पनी गुणस्तर व्यवस्थापन आईएसओ ९००१ः२०१५ बाटै प्रमाणित छन् ।

यस्तै, २२ वटा कम्पनी खाद्य स्वच्छता आईएसओ २२०००ः२०१५, १८ वटा कम्पनी वातावरण व्यवस्थापन आईएसओ १४००१ः२०१५, नौ वटा कम्पनी प्रयोगशाला परीक्षण तथा मापन आईएसओ १७०२५ः२०१७, दुई वटा संस्था ऊर्जा व्यवस्थापन आईएसओ ५०००१ः२०१८ तथा सूचना सुरक्षा आईएसओ २७००१ः२०१३ र स्वास्थ्य उपकरण आईएसओ १३४८५ः२०१६ बाट एक\एक वटा कम्पनी प्रमाणित भएको आईएसओ सर्वेक्षणले जनाएको छ ।

हालसम्म विश्वमा १३ लाखभन्दा बढी संस्था एवम् कम्पनीले आईएसओका विभिन्न गुणस्तरका प्रमाणपत्र लिइसकेका छन् ।

यसमध्ये आधाभन्दा बढी आईएसओ गुणस्तर प्रमाणित कम्पनी एशियामा छन् । पछिल्लो समय आईएसओ बाहेकका संघसंस्थाहरूले पनि आफ्ना स्वेच्छिक गुणस्तर स्थापित गरेकाले आईएसओ प्रमाणित हुने संस्थाहरूको संख्या खस्किएको छ । नेपालमा भने स्वेच्छिक गुणस्तरका रूपमा आईएसओ र नेपाल गुणस्तर नै स्थापित छन् । 

(खाद्य प्राविधिज्ञ गुरागाईं हाल क्यानाडामा कार्यरत छन् ।)

प्रतिकृया दिनुहोस