महिला मन्त्री पार्वत गुरुङसँग राजदूतहरुको भेट
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङसँग दुई देशका राजदूतले भेट गरेका छन्।
नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बड र स्वीट्जरल्याण्डका राजदुत एलिजाबेथ भोन क्याप्लेरले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता गरेका हुन्।
त्यस अवसरमा मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुने गरी मित्र राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए।
उनले महिलाको आर्थिक सशक्तिकरण तथा बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको पक्षमा संघीय सरकारले प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने बताए।
राजदुतहरु बड र क्याप्लेरले पनि मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको उत्थानका लागि नेपालसँगै सहकार्यका साथ काम गर्न आफ्नो मुलुक तत्पर रहेको बताएका छन् ।
राजदूतहरुले समाज कल्याण परिषदको भावी योजना तथा नीतिगत/कानुनी पुनरावलोकनका बारेमा राखेको चासोको बारेमा मन्त्री गुरुङले परिषदलाई मुलुकको बदलिँदो परिवेश अनुसार अझ प्रभावकारी बनाएर लैजाने बताए।
मन्त्री गुरुङसँग यसअघि नेपालका लागि जापानी राजदूतले पनि भेट गरेका थिए।