नेता पौडेल तयार नभए पनि आइतबार कांग्रेसको बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले बरिष्ठ नेता रामचन्द्र पौडेललाई निवासमै बैठकमा भाग लिन आग्रह गरेका छन् ।
बिहीबार केन्द्रीय कार्य समितिको बैठक बहिष्कार गरे पछि नेता पौडेललाई छलफलमा भाग लिन आग्रह गर्न बोहोराटार पुगेका थिए । तर, नेता पौडेलले १४औं महाधिवेशनको कार्यतालिका बारे छलफल नभए बैठकमा नआउने अडान लिएका छन् ।
नेता पौडेल र कृष्णप्रसाद सिटौलाले बैठक बहिष्कार गरे पछि एजेण्डाबारे छलफल गर्न उपसमिति नै बनाइएको छ । उपसमितिमा उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी छन् ।
तर, सभापति देउवाले भने सहमति नजुटे पनि आइतबार दिउँसो एक बजे बैठक बोलाएका छन् ।
बैठकमा विभाग गठन र भातृ संस्थाहरुबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कांग्रेस बैठकमा विभाग २८ बाट बढाएर ४१ बनाउने र विघटन गरिएको नेवि संघ तत्काल गठनको प्रस्ताव गरिएको छ ।