अध्यक्षद्वयको कार्यविभाजनबाट सरकार र पार्टीलाई फाइदाः नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षको कार्यविभाजनले सरकार र पार्टीलाई फाइदा पुग्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा बरिष्ठ नेता नेपालले पार्टीभित्र एक व्यक्ति, एक पदको व्यवस्था कार्यान्वयनमा आएको बताए । एक व्यक्ति एक पदअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग अगल हुनुले सरकार सञ्चालन र पार्टी सङ्गठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने बताए ।
उपनिर्वाचनको परिणामबाट निराश नहुन कार्यकर्तालाई आग्रह समेत गरे । पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयनलगायत मात्र भएको नेता नेपालले बताए ।
जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको उनले बताए ।
कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारी दिइएकाले अब सरकारी स्तरमा वार्ता हुने नेता नेपालको भनाइ छ ।