बार्सिलोना सोसिडाडसँग बराबरीमा रोकियो
स्पेनिस ला लिगामा बार्सिलोना रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ ।
शनिबार राति सकिएको खेलमा सोसिडाड र बार्सिलोना २–२ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको बार्सिलोना र सोसिडाडले दोस्रो हाफमा पनि समान गोल गरे ।
खेलको १२औं मिनेटमै बार्सिलोना विरुद्ध गोल गर्दै सोसिडाडले अग्रता लिएको थियो । तर, ३८औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफको ४९औं मिनेटमै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
तर, ६२औं मिनेटमै एलेक्जेण्डरले सोसिडाडका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । यसपछि दुवै पक्षबाट गोल हुन नसकेपछि अंक बाडिएको छ ।
सोसिडाडसँग अंक बाड्दै बार्सिलोना अंक तालिकामा १६ खेलबाट ३५ अंक सहित शीर्ष स्थानमा छ भने १५ खेलबाट ३४ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ ।