इँटा उद्योगमा साढे आठ करोडको क्षति
शुक्रबार राति परेको पानीले रौतहटको इँटा उद्योगमा ठूलो क्षति पुर्याएको छ । देशको सबैभन्दा बढी इँटा उद्योग रहेको रौतहटमा पानी परेपछि ठूलो परिमाणमा इँटा गलेपछि नाेक्सानी भएको हो ।
जिल्लाका १६१ इँटा उद्योगमा साढे आठ करोडभन्दा बढीको क्षति भएको इँटा उद्योग व्यवसायी संघ रौतहटका अध्यक्ष रामविनोद साहले जानकारी गराएका छन् ।
शुक्रबार राति परेको पानीले जिल्लाका सबै इँटा उद्योगमा क्षति पुर्याएको बताउँदै अध्यक्ष साहले आफूले मात्र कम्तीमा आठ लाख रुपैयाको क्षति बेहोर्नु परेको बताएका छन् ।
जिल्लाभरिको यथार्थ तथ्यांक आउँदा क्षतिको विवरण अझ बढ्ने अध्यक्ष साहले दाबी गरेका छन् । कतिपय इँटा उद्योगमा आगो पोल्न शुरु नगरिएको तर इँटा सुकाएर राखेकाले अत्यधिक क्षति बेहोर्नु परेको अध्यक्ष साहको भनाइ छ ।
इँटा उद्योग चल्ने सिजनको शुरुमै भएको वर्षाले उद्योगीको ढाड सेक्ने काम गरेको अर्का व्यावसायी रामजी साहले बताएका छन् ।