समाचार शनिबार, मंसिर २८, २०७६

शिक्षालाई सीप र उत्पादनमा जोडिने छ: मन्त्री पोखरेल

कमल रिमाल

शिक्षालाई सीप र उत्पादनमा जोडिने छ: मन्त्री पोखरेल
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेल । तस्वीरः कमल रिमाल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई विकाससँग जोड्न नसकिएकाले उत्पादन गर्ने जनशक्तिको अभाव भएको बताएका छन्।

विद्यालयलाई विकाससँग जोडेर विकासमा शिक्षालाई सीपसँग र सीपलाई उत्पादनसँग जोडेपछि समृद्धि आउने मन्त्री पोखरेलले बताए । प्रेस सेन्टरले शनिबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले उत्पादनसँग जोड्ने जनशक्ति उत्पादन गर्न शिक्षा नीति ल्याइएको जानकारी दिए।

विगतमा जनशक्ति मात्रै उत्पादन हुँदै आएको र अबको शिक्षाले सक्षम नागरिक उत्पादन हुने उनको तर्क छ । नेपालको इतिहासमै पहिलो पटक शिक्षा नीति ल्याइएको बताउँदै उनले भने, “नीति बनाएर जाने चलन थिएन, अहिले नीति बनाएर विधेयक बनाएका छौं।”

शिक्षा नीतिले संघ, प्रदेश र स्थानीय सरकारले खेल्नुपर्ने भूमिकालाई समेटेको उनले बताए । २०८५ सम्ममा आधारभूत शिक्षा नलिएका मानिस नेपालमा नहुने बताउँदै शिक्षाबिना बैंक खातासम्म नखुल्ने अवस्था आउने मन्त्री पोखरेलको भनाइ छ।

युनेस्को सम्मेलनमा आफूले सन् २०३० सम्ममा नेपालमा शिक्षामा के गर्न सक्छौं भन्ने खाका बनाएर आफूले पेश गरेको उनले जानकारी दिए ।

“१० वर्षभित्रमा अभिभावक र विद्यार्थीको बीचमा विद्यालय आउने छ”, मन्त्री पोखरेलले भने । शिक्षक नपुगेका ठाउँमा स्वयंसेवक शिक्षक राख्न बजेट छुट्याइएको बताउँदै उनले यसै वर्ष ५ हजार शिक्षक थप गर्ने जानकारी गराए।

नेपालमा ७७ प्रतिशत सार्वजनिक शिक्षाको योगदान रहेको भएपनि कतिपय विद्यालय रुग्ण उद्योग सरह संचालनमा रहेको उनको भनाइ छ।

 

प्रतिकृया दिनुहोस