रिपोर्ट शुक्रबार, मंसिर २७, २०७६

रक्तस्राव अभिशाप

हिमालखबर

रक्तस्राव अभिशाप
बडिमालिका नगरपालिका–७ ढम्कनेकी गर्भवतीलाई जिल्ला अस्पताल लगिंदै । तस्वीर: प्रकाशसिंह
- प्रकाश सिंह
 
ब्लड ब्याङ्क नभएको बाजुरामा जनचेतनाको कमीले आफन्तका लागि समेत स्थानीयले रक्तदान नगर्ने प्रवृत्तिले आकस्मिक रगत चाहिने सुत्केरीलाई बचाउन समेत सुरक्षा निकाय गुहार्नु परेको छ।
 
बाजुरा, जगन्नाथ गाउँपालिका–५ की ३५ वर्षीया पुल्ती रावललाई सुत्केरी व्यथाले च्यापेपछि सामुदायिक स्वास्थ्य एकाइ केन्द्र लैजाँदै गर्दा बाटैमा बच्चा जन्मियो ।
 
तर, केन्द्र पुर्‍याउँदा उनी अचेत भइन् । तत्कालै जिल्ला प्रशासन कार्यालयले उद्धारका लागि हेलिकप्टर पठाइदिन प्रदेश र संघीय सरकारलाई आग्रह गर्‍यो ।
 
केन्द्रकै अहेबले भित्र अड्किएको साल निकालेपछि उनको होश खुलेका कारण उद्धार गरिहाल्नु त परेन, तर अत्यधिक रक्तस्रावका कारण उनको ९ मंसीरमा मृत्यु भयो ।
 
बाजुरामा भदौ यता मात्र पाँच जना सुत्केरीको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांशको मृत्युको कारण अत्यधिक रक्तस्राव नै हो ।

मृत्यु हुनेमध्ये चार जना सुत्केरी हुनुअघि वा भइसकेपछि अस्पताल पुगेकाहरू हुन् ।

१६ कात्तिकमा त्रिवेणी नगरपालिका–१ छताराको स्वास्थ्य चौकीमा चौथो सन्तान जन्माएकी ३७ वर्षीया रेजिया नेपालीको ६ घण्टापछि मृत्यु भयो ।

सुत्केरीको मृत्युदर जिल्लाको दुर्गम भेगमा अत्यधिक छ । गत २५ कात्तिकमा बुढीगंगा नगरपालिका–७ झलीकी २० वर्षीया कमला उखेडको धनगढी लैजाने क्रममा अछामको चौखुट्टेमा मृत्यु भयो ।

उनलाई सुत्केरी व्यथा लागेपछि धामी समेत रहेका ससुरा अमी उखेडाले घरैमा एक दिनभरि झारफुक गरेका थिए । अचेत भएपछि मात्र अछामको बयलगडा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट ‘रिफर’ गरिएपछि धनगढी लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो।

जिल्ला अस्पताल पुर्‍याइएका सुत्केरीहरूले पनि ज्यान गुमाइरहेका छन् । जिल्ला अस्पतालमा भर्ना भएकी बडिमालिका नगरपालिका–७ जिल्लीकी बसन्ती नेपालीको गएको ७ भदौमा सुत्केरी भएको एक घण्टामै मृत्यु भयो । बुढीनन्दा नगरपालिका–१० पाण्डुसेनकी ३५ वर्षीया निर्मला बोहोराको पनि २५ भदौमा सुत्केरी भइसकेपछि जिल्ला अस्पतालमै मृत्यु भयो ।

गर्भवतीले नियमित गर्भ जाँच नगराउनु र सुत्केरी हुन समयमा नै स्वास्थ्य संस्था नजानु नै मृत्युको कारण भएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खड्का बताउँछन् । समयमा नै स्वास्थ्य संस्था नपुग्दा अधिकांश सुत्केरीको अत्यधिक रक्तस्रावबाट मृत्यु हुने गरेको छ ।

छैन ‘ब्लड ब्याङ्क’

सुत्केरी हुँदा उच्च रक्तस्राव भएपछि दुई महीनाअघि जिल्ला अस्पताल भर्ना भएकी पाण्डुसेनकी ३० वर्षीया जावा दमाईलाई तत्कालै ‘ए पोजेटिभ’ रगत चाहिएको थियो । आफन्तले धेरैतिर खबर गर्दा पनि रगत पाउन सकेनन् ।

उनको अवस्था गम्भीर भएपछि जिल्ला अस्पतालले सुरक्षा निकायलाई खबर गर्‍यो । समरजित गुल्मका मेजर रविन श्रेष्ठ, प्यूठ कृष्ण पुन र जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान सरस्वती बमले पालैपालो तीन दिन रगत दिएको जिल्ला अस्पताल प्रमुख डा. रूपचन्द्र विश्वकर्मा बताउँछन् ।

समरजित गुल्मका मेजर रविन श्रेष्ठ जिल्ला अस्पतालमा रक्तदान गर्दै ।

आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यालय र टाटे स्वास्थ्य चौकीमा भए पनि ब्लड ब्याङ्क छैन । बिरामीलाई रगत चाहिए आकस्मिक रूपमा रक्तदान गर्ने मान्छे खोज्नुपर्ने जिल्ला अस्पतालका सूचना अधिकारी कुल रावल बताउँछन् ।

भन्छन्, “आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाउँमा भए पनि ब्लड ब्याङ्क नहुँदा सुत्केरी र अन्य बिरामीलाई समस्या हुँदै आएको छ । आकस्मिक रक्तदान गर्ने मान्छे नपाइँदा सुरक्षा निकायलाई आग्रह गर्ने गरिएको छ ।”

जिल्लामा आकस्मिक रगत दिने दाता नै नभेटिने जिल्ला अस्पताल प्रमुख डा.विश्वकर्मा बताउँछन् । “रक्तदान गर्नुपर्छ भन्ने चेतना नै छैन, आवश्यक परेको वेला रक्तदाता खोज्दै सरकारी कार्यालय धाउने गरेका छौं”, उनी भन्छन् । रगत अभावमा जिल्ला अस्पतालले दिने आकस्मिक प्रसूति सेवा प्रभावित हुने गरेको छ । बिरामीका आफन्त समेत रगत दिन नमान्ने गरेको विश्वकर्माको भनाइ छ ।

अलपत्र आकस्मिक प्रसूति सेवा

परिवार स्वास्थ्य महाशाखाले गत आर्थिक वर्ष कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवा सञ्चालन गर्न रु.२० लाख पठाएको थियो । तर, बुढीनन्दा नगरपालिकाले सेवा सञ्चालन गर्न नसकेपछि उक्त रकम फिर्ता गयो । महाशाखाले यो आर्थिक वर्ष रु.३० लाख विनियोजन गरे पनि सेवा सञ्चालनका लागि नगरपालिकाले कुनै पहल नगरेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

महाशाखाले यो वर्ष साउनबाटै सेवा शुरू गर्ने गरी कर्मचारी राख्न नगरपालिकालाई बजेट समेत पठाइसकेको छ । सेवा सञ्चालनका लागि प्रसूति रोग विशेषज्ञ, स्टाफ नर्स, एनेस्थेसिया विशेषज्ञ र कार्यालय सहयोगी अनिवार्य राख्नुपर्ने उपमेयर सृष्टि रेग्मी बताउँछिन्।

“गत वर्ष व्यवस्थापन कमजोरीका कारण रकम फिर्ता गयो । यो आर्थिक वर्षमा जसरी पनि सेवा सञ्चालनमा ल्याउँछौं”, उनी भन्छिन् । सेवा सञ्चालनका लागि गत वर्ष नै त्यहाँ करारमा कार्यरत डा.सत्य शाहीलाई परिवार कल्याण महाशाखाले आकस्मिक प्रसूति शल्यक्रिया तालिममा पठाएको थियो ।

उनले सेती अञ्चल अस्पतालबाट ७० दिनको तालिम पनि लिए तर, नगरपालिका र तलबमा सहमति नहुँदा सेवा सञ्चालन हुन सकेन । महाशाखाका सुरक्षित मातृत्व सेवा कार्यक्रमका प्रमुख डा.इन्द्रप्रसाद प्रजापति भने यो वर्ष पनि सेवा सञ्चालनका लागि स्थानीय र प्रदेश सरकार सक्रिय नभएको बताउँछन् ।

आकस्मिक प्रसूति सेवाका लागि गत आर्थिक वर्षमा खरीद भएको रु.१० लाख बराबरका सामग्री जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा थन्किएका छन् । ती सामग्री कोल्टी पठाएर चाँडै जडान सक्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अशोक सिंहले बताए ।

बाजुरा पूर्वोत्तर क्षेत्रका चार, मुगुका दुई र हुम्लाका दुई स्थानीय तहलाई लक्षित गरी सरकारले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवा सञ्चालन गर्न लागेको हो ।

अहिले त्यहाँका जटिल खाले सुत्केरीलाई सदरमुकाम मार्तडी पुर्‍याउनुपर्ने हुँदा ज्यानै जोखिममा हुने गरेको स्थानीय गोरख सार्की बताउँछन् । गत आर्थिक वर्ष त्यहाँबाट दुई जना जटिल अवस्थाका सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगिएको थियो ।

जिल्लाको हिमाली गाउँपालिकाका अधिकांश स्थानीय स्वास्थ्य सेवाबाट विमुख छन् । स्वास्थ्य संस्था पुग्न नै दुई दिनसम्म लाग्ने हुँदा प्रायः घरमै सुत्केरी हुने गाउँपालिका उपाध्यक्ष चन्द्रकला बुढा बताउँछिन् । कोटगाउँकी स्थानीय नानी बोहोरा विकट गाउँका स्थानीय बिरामी हुँदा र सुत्केरीको उपचारका लागि जडीबुटीमा भर पर्नु परिरहेको गुनासो गर्छिन् ।

रुगिन स्वास्थ्य चौकीकी अनमि प्रेमकला मल्लका अनुसार वर्षाको वेला दुर्गम गाउँमा खोप सेवा पनि बन्द हुन्छ । ती ठाउँबाट गर्भवती जाँचका लागि समेत विरलै आउँछन् । “सामान्य बिरामी हुँदा सिटामोल, जीवनजल जस्ता औषधि लिन चार घण्टादेखि दुई दिनसम्म हिंड्नुपर्छ”, उनी भन्छिन् ।

अस्थायी बसाइँसराइ झनै जोखिम

हुम्लाको ताजाकोट गाउँपालिका–२ की सीता थापा भोटे कात्तिक दोस्रो साता जाडो छल्न परिवारसँग अछाम जाँदै थिइन् । बाजुराको बाह्रबिस आइपुगेपछि बाटैमा सुत्केरी भइन् । अत्यधिक रक्तस्राव भएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेको उनले बताइन् ।

बाजुराको हिमाली गाउँपालिका–३ युनाकी १९ वर्षीया पार्वती गुरुङ जाडो छल्न दुई महीनाअघि परिवारसँग अछामको देवीस्थान बसाइँ जाँदै थिइन् । लेककोट जङ्गलमै बच्चा जन्माइन् । गर्भवतीमा र सुत्केरी भएपछि पनि आफूले कुनै जाँच नगरेको, खोप नलगाएको र आइरन चक्की समेत नखाएको उनले बताइन् ।

चिसो छल्न भेडा, च्याङ्ग्रा सहित हिमाली भेगका स्थानीय हिउँदका ६ महीना बेंसी झर्ने भएकाले कतिपय गर्भवतीले बाटैमा बच्चा जन्माउने भोटे जनजाति महासंघका निवर्तमान अध्यक्ष बुद्धि बोगटी (भोटे) बताउँछन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका बाजुरा, बझाङ, मुगु, हुम्ला, जुम्लाका बासिन्दा मौसमी बसाइँ सर्छन् । त्यतिवेला सुत्केरी र गर्भवती महिला जोखिममा पर्ने बोगटीको भनाइ छ ।

बाटामा बच्चा जन्माउँदा आमा बच्चा दुवै जोखिममा पर्छन् । गत वर्ष मंसीरमा हिमाली गाउँपालिकाको अगाउपानीकी तनी थापाले अछाम जाँदै गर्दा बुढीगंगा गाउँपालिकाको रापकमा बच्चा जन्माइन् । तर, चिसो र औषधिउपचार नहुँदा नाबालक छोरी गुमाएको उनको दुःखेसो छ । उनी भन्छिन्, “सुत्केरी भएकै दिन बच्चा बोकेर पाँच घण्टा हिंडें । बाटोमा न राम्रोसँग खान पाएँ, न त आराम नै ।” त्यतिवेलादेखि आफू तङ्ग्रिनै नसकेको उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस