मुगुमा हिमपात, चिसोले जनजीवन कष्टकर: (फाेटाे फिचर)
अच्युत राज भण्डारी, मुगु
हिमाली जिल्ला मुगुमा भारी हिमपात भएको छ । यस वर्ष मंसीरमै हिमपात शुरु भएको छ । बिहीबार रातिदेखि लगातार हिमपात भएसँगै जनजीवन कष्टकर बन्दै गएको छ ।
वर्षात तथा हिमपातले अत्यधिक चिसो बढेपछि मुगुमा आवतजावत प्रभावित बनेको छ । समयमै पानी र हिउँ पर्दा स्थानीय कृषक भने खुशी भएका छन् । यो वर्ष मंंसीरमै हिउँ परेपछि अन्नबाली र फलफूल उत्पादन राम्रो हुने कृषकहरू बताउँछन् ।
बिहीबार रातिदेखि लगातार परेको हिमपातले पर्यटकीयस्थल रारामा करीब १ फिट हिउँ जमेको डाँफे होटल राराका मेनेजर बलिबहादुर शाहीले बताए ।
बिहीबार दिउँसोदेखि परेको वर्षातले रातिबाट हिमपात शुरु भएको उनको भनाइ छ । अहिले रारामा लगातार हिमपात भइरहेको उनले बताए ।
आसपासका बस्तीबाट सरकारी कामकाजका लागि सदरमुकाम आउने सर्वसाधारणलाई चिसोले कामकाजमा कष्ट भएको स्थानीयको भनाइ छ ।
शुक्रबार हवाई सेवा समेत प्रभावित भएको छ । जिल्लाको रारा विमानस्थलमा कुनै पनि जहाजले उडान गरेका छैनन् ।
घुच्ची सातमोडमा हिउँ जमेपछि सडक यातायात समेत प्रभावित भएको छ । सदरमुकाम गमगढीमा यातायातका कुनै पनि सवारी साधनहरू आज बिहानैदेखि चलेका छैनन् ।
मानिस लगायत पशु चौपायालाई चरन, घाँसपातका लागि कष्ट भएको खत्याड–५ का कलबहादुर रोकाया बताउँछन् । “बिहानैदेखि परेको हिउँले मानिस लगायत भेडा, बाख्रा, गाई भैसी समेतलाई घरबाट बाहिर निस्किन कठिनाइ भएको छ,” उनले भने ।
मुगम कार्मारोङ्ग गाउँपालिकाको मुगु, डोल्फु, चितै, ताखा, खारी, कात्ती, किम्री, दाउरा, सेरोग, पुलु, पुअ, मह, मांग्री लगायत बस्तीमा भारी हिमपात भएको स्थानीय बताउँछन् ।
त्यस्तै छायाँनाथ रारा नगरपालिकाको रारा, मुर्मा, मुर्माटप, जेउडे, मुन्दु, कोटिल्ला, पिना, घुइर, ताल्च, रारा, टोप्ला, झ्यारी घुच्चीलेक, रोवा, सोवा, घट्टेलेक, चराप, झाकोट, बाम, चंखेली लगायत स्थानमा भारी हिमपात भएको छ ।
खत्याड गाउँपालिकाको खमाले, कोटिल्ला, चागपाँडे, कवाँ, भागोटी, साड्बाडा, निगालीबोट, जम्फै, जोगीलेक, गाडेखोला, डाडुपाटा, जिउका लगायत क्षेत्रमा पनि शुक्रबार बिहानैदेखि हिउँ परेको छ ।
सदरमुकाममा नागरिकता बनाउन आएको वर्षात र हिमपातका कारण घर फर्किन समस्या भएको खत्याड गाउँपालिका–९ जामिर गाउँका कर्ण भण्डारी बताउँछन् ।
बिहीबार देखिको लगातार पानी र हिमपातका कारण ग्रामीण पहुँच कार्यक्रमको निर्माणाधीन अवस्थामा रहेको मुगु–हुम्ला लिङ्क रोडको सडक निर्माण कार्य समेत प्रभावित भएको छ ।
मुगुको रुगा भट्टेचौरदेखि हुम्लाको देउलीसम्मको सडक निर्माण कार्य धमाधम भइरहेकोमा रातभरिको भारी हिमपातले काम प्रभावित बनाएको ग्रामीण पहँुच कार्यक्रम आयोजनाले जनाएको छ ।
हिमपातले कामकाज र जनजीवन प्रभावित भएपनि यस वर्ष समयमै हिमपात भएकाले अन्नबाली र खेतीपाती, स्याउ, आरु, ओखर लगायत फलफूल खेती सप्रिने हुँदा कृषकहरू भने हर्षित भएका छन् ।
विगतका वर्षहरूमा समयमा वर्षात र हिमपात नहुने र कात्तिकमा लगाएको जौं, गहुँ, हिमाली उवा लगायत बाली राम्रो नहुने गरेकोमा यस वर्ष भने मंसीरमै पानी र हिउँ पर्दा खुशी भएको बताउँछन् छायानाथ रारा नगरपालिका–९ मुर्म गाउँका कुलबहादुर रोकाया । उनी भन्छन्, “मंसीरमै भएको हिमपातले अन्नबाली राम्रो हुने र फलफूल खेती समेत सप्रिने भएको छ ।”