अयोध्या विवादः सबै पुनर्विचार याचिका सर्वोच्चद्वारा खारेज
भारतीय सर्वोच्च अदालतले अयोध्या विवादबारे दायर गरिएका सबै १८ वटा याचिका खारेज गरिदिएको छ । पाँच न्यायाधीशको संवैधानिक बेन्चले सबै याचिकाको सुनुवाइ गर्दै खारेज गरेको जनाइएको छ ।
भारतीय सर्वोच्च अदालतले ९ नोभेम्बर, २०१९ मा रामजन्मभूमि–बाबरी मस्जिदबारे फैसला सुनाएको थियो । सो फैसलामा पुनर्विचार गरियोस् भन्दै १८ वटा निवेदन परेको थियो ।
अयोध्या विवादको फैसला तत्कालीन प्रधानन्यायाधीश रंजन गोगोईले अध्यक्षता गरेको पीठले सुनाएको थियो । जसमा पाँच न्यायाधीश सम्मिलित थिए । सो फैसला पाँचै न्यायाधीशको सर्वसम्मतिले सुनाइएको थियो ।
फैसलाबारे पुनर्विचार गर्न अल इन्डिया मुस्लिम पर्सनल ल बोर्ड, हिन्दू महासभा, निर्मोही अखाडा तथा कयौं अधिकारवादीले याचिका दायर गरेका थिए ।
९ नोभेम्बरमा सर्वोच्चले सुनाएको फैसलामा विवादित भूमिमा राम मन्दिर बनाउन दिने र मुस्लिम पक्षका लागि अन्यत्र ५ एकड जमिन उपलब्ध गराउने आदेश दिएको थियो ।– एजेन्सी