चालु आर्थिक वर्षको वृद्धिदर ६ दशमलव ४ प्रतिशतमा खुम्चने विश्व ब्यांकको आकलन
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशत हुने विकास साझेदार विश्व ब्यांकले आकलन गरेको छ ।
ब्यांकले बिहीबार प्रकाशित गरेको नेपाल डेभलपमेन्ट अपडेटले सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने अनुमान गरेको हो ।
सरकारले चालु आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । ब्यांकले आगामी आर्थिक वर्षमा समेत ६ दशमलव ५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।
बितेको आर्थिक वर्षमा नेपालले ७ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो । विगत तीन वर्षमा नेपालले औसतमा वार्षिक झण्डै ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो ।
विश्व ब्यांकको आर्थिक वृद्धिदरको प्रक्षेपणसँग अर्थमन्त्री डा. युवराज खतिवडा भने असहमत देखिएका छन् । अपडेट सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले सरकारको आर्थिक वृद्धिको लक्ष्य पूरा हुने धारणा राखे । उनले सरकारको वृद्धिदरको लक्ष्य संशोधन गर्नुपर्ने कुनै कारण नभएको पनि उल्लेख गरे ।
विश्व ब्यांकले चालु वर्ष र आगामी वर्ष मूल्यवृद्धि दर ५ प्रतिशत रहने अनुमान गरेको छ ।