सागमा स्वर्ण जित्ने खेलाडीलाई नौ लाख दिने प्रधानमन्त्रीको घोषणा
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नौ लाख पुरस्कार दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।
बालुवाटारमा साग विजेता खेलाडीहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले रजत जित्ने खेलाडीलाई ६ लाख र काँस्य जित्नेलाई तीन लाख दिने घोषणा गरेका छन् ।
मंगलबार घरेलु मैदानमा सकिएको तेह्रौ सागमा नेपालले ५१ स्वर्ण पदक सहित २०६ पदक जितेको छ ।
स्वास्थ्यका कारण दशरथ रंगशाला जान नसकेका प्रधानमन्त्री ओलीले बालुवाटारमै खेलाडीहरुलाई बोलाएर पुरस्कार घोषणा गरेका हुन् ।