साग सकियो, ट्रायथलनका लागि साइकल आउँदै
१३औँ दक्षिण एसियाली खेलकुद (साग) सकिइसक्यो तर, ट्रायथलनका लागि साइकल र कस्ट्युम केही दिनमा आइपुग्दैछ ।
ट्रायथलन खेलाडीले प्रयोग गर्ने साइकल भारतमा समेत नपाइने हुँदा ताइवानबाट मगाइएको थियो । नेपाल ट्रायथलन संघले ताइवानको कम्पनीसँग १० वटा साइकल माग पनि गरिसकेको थियो ।
कम्पनीले रकम भुक्तानी नगरी साइकल नपठाउने हुँदा संघले राष्ट्रिय खेलकुद परिषद्ले पटकपटक ताकेता गरेको थियो । तर, समयमा नै बजेट नपठाउँदा प्रतियोगिताका लागि मगाएका साइकल आगामी साता मात्र आइपुग्ने स्रोतले जनाएको छ ।
ट्रायथलनका खेल १६ मंसिरदेखि पोखरामा हुने तय थियो । राखेपले १४ मंसिरमा मात्र बजेट दिएको थियो । बजेट पाउने वित्तिकै संघले ताइवानको कम्पनीलाई भुक्तानी पठाएको थियो ।
साइकलसँग ट्रायथलन खेलाडीका लागि कस्ट्युम पनि मगाइएको थियो । साइकल र कस्ट्युम ताइवानको कम्पनीले कार्गो गरिसकेको छ ।
ती साइकलको मूल्य प्रतिगोटा रु.३ लाख भन्दा बढी पर्छ । कार्गोसहित करिब रु.४ लाख पर्ने स्रोतको भनाइ छ ।
ट्रायथलन खेलाडीले लगाउने कस्ट्युमको मूल्य पनि १० हजार पर्छ ।