कला/साहित्य मंगलबार, मंसिर २४, २०७६

पोखरामा २७ मंसीरदेखि आइएमई नेपाल साहित्य महोत्सव

हिमालखबर

पोखरामा २७ मंसीरदेखि आइएमई नेपाल साहित्य महोत्सव

मंसीर २७ देखि ३० गतेसम्म पोखराको लेकसाइडमा आयोजना भइरहेको आइएमई नेपाल साहित्य महोत्सवको आठौँ संस्करणबारे जानकारी दिन मंगलबार आयोजक संस्था बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीले पोखरामा संयुक्त पत्रकार सम्मेलन आयोजना गरे ।

महोत्सवमा अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका ११० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्वका साथै ३५ भन्दा बढी सेसन र थप रोचक सामग्री समावेश हुने बताइएको छ ।

साथै यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै गरिमामय डीएससी पुरस्कार प्रदान गर्न लागिएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशिबराबरको उक्त पुरस्कार दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो ।

महोत्सवको उद्घाटन सत्रमा पूर्वअर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत प्रवचन रहने पनि बताइएको छ।
पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक अजित बरालले सन् २०११ मा काठमाडौं झम्सिखेलको सानो प्राङ्गणबाट सुरु भएको महोत्सव आठौँ संस्करणसम्म आइपुग्दा पोखराको विशाल प्राङ्गण हुन गइरहेको बताए ।

“यस्ता महोत्सवमा हुने सामाजिक बहसले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन सघाउँछ । यसले समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पुर्‍याउँछ”, उनले भने ।

कार्यक्रममा र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले नेपालकै सबैभन्दा ठूलो र एकमात्र अन्तर्राष्ट्रिय साहित्य महोत्सव पोखरामा आयोजन गर्न पाउँदा गौरवान्वित भएको बताए । पोखरालाई सांस्कृतिक—साहित्यिक शहर बनाउन, पोखरेली साहित्यको विकास गर्नमा नेपाल साहित्य महोत्सवले अग्रणी भूमिका खेलेको उनले बताए ।

नेपाल साहित्य महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकको रुपमा आएको ह्वाट द बुक क्लबका उपाध्यक्ष अनिशा बराइलीले बताइन् । महोत्सवले पोखरालाई छुट्टी मनाउन आउने शहरमात्रको परिचयबाट माथि उठाएर साहित्यको केन्द्र बनाएको उनको भनाइ थियो ।

 

प्रतिकृया दिनुहोस