मानव अधिकार आयोगको कार्यक्रममा प्रमुख अतिथि गृहमन्त्री, रुँदै बाहिरिइन् माओवादी पीडित सावित्री
राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रम माओवादी पीडित सावित्री श्रेष्ठले बहिष्कार गरेकी छन् ।
ललितपुरस्थित आयोगको परिसरमा आयोजित ७१औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आयोजित कार्यक्रम श्रेष्ठले बहिष्कार गरेकी हुन्।
परिसरबाट रुँदै बाहिरिएकी श्रेष्ठले आयोगबाटै पीडितको उपहास भएको बताइन्।
“पीडकका नाइकेलाई नै प्रमुख अतिथि बनाएको देख्न सकिनँ । त्यसपछि कार्यक्रम छोडेर हिडेँ” श्रेष्ठले भनिन्, “बरु, सडकमा हिडिरहेको जसलाई अतिथि बनाएको भए पनि हुन्थ्यो ।”
आयोगको स्थापना दिवसमा गृहमन्त्री रामबहादुर थापालाई प्रमुख अतिथि बनाइएको थियो ।
थापा मञ्चमा आएपछि श्रेष्ठ कार्यक्रम छोडेर बाहिरिएकी थिइन् । श्रेष्ठलाई कार्यक्रमका सहभागीहरुले रोक्ने प्रयास गरेका थिए ।
“मजस्तै पीडितहरुले हुटिङ गरौं तर, बसौं भन्दै हुनुहुन्थ्यो” श्रेष्ठले भनिन्, “तर, मलाई आयोजकको नियत नै राम्रो नलागे पछि एक्लै निस्किएँ ।”
माओवादी पीडित श्रेष्ठ न्याय माग्दै वर्षौंदेखि लडिरहेकी छन् ।
“गृहमन्त्री भए पनि उनी मेरो आँखामा अपराधी हुन्”, श्रेष्ठले भनिन् ।
सावित्री भाइ उज्जनकुमार श्रेष्ठको हत्यामा तत्कालीन माओवादीको हात रहेको भन्दै न्यायका निम्ति लडिरहेकी छन् । हत्याका आरोपी पूर्व सांसद बालकृष्ण ढुंगेल पटकपटक पक्राउ पर्दै रिहा भएका छन्।
पछिल्लोपटक ढुंगेललाई एकवर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिएकी थिइन् ।