माधव नेपाललाई निवासमै पुगेर भेटे भारतीय राजदूतले
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले भेटवार्ता गरेका छन् ।
राजदूत पुरी नेता नेपालकै निवास कोटेश्वरमा पुगेका हुन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।
भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो । दुई देशबीच अहिले सीमा विवाद उत्पन्न भएकाले कूटनीतिक र राजनीकिक तहबाट समाधानको पहल भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेषदूतका रुपमा पठाउने तयारी गरेका छन् ।