२७८ स्वर्ण टुंगिदा नेपाललाई इतिहासकै ठूलो सफलता
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो अन्तिम दिनसम्म २७८ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाललाई खेल इतिहासकै ठूलो सफलता मिलेको छ ।
सोमबारसम्मको खेलमा नेपालले ४९ स्वर्ण जितिसकेको छ । अझ स्वर्ण थपिने संभावना कायमै छ । विशेषगरी सागको अन्तिम दिन हुने फुटबलमा नेपालले जित्दै ५० स्वर्ण पुग्ने अनुमान गरिएको छ ।
किनभने, फुटबलमा भुटान नेपाल भन्दा कमजोर देश हो । समूह चरणमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । तर, उत्कृष्ट पुनरागमन गर्दै फाइनल आइपुगेको भुटानलाई हराउँदै डिफेन्डिङ च्याम्पियन नेपाल स्वर्ण संख्या बढाउने तयारीमा छ ।
नेपालले स्वर्ण संख्या पाँच नपु-याउँदा समेत फुटबलमा स्वर्ण जितेको इतिहास छ । यसपटक भने नेपालले ४९ स्वर्ण सहित १८३ पदक जितिसकेकाले खेल इतिहासमै ठूलो सफलताका रुपमा व्याख्या गरिएको छ ।
सन् १९९९ को आठौं सागमा ३१ स्वर्ण जितेको कीर्तिमान सच्याउँदै अगाडि बढेको नेपालका लागि खेलाडीहरुले व्यक्तिगत रुपमा समेत थुप्रै कीर्तिमान बनाएका छन् । सागको अंक तालिकामा नेपाल ४९ स्वर्ण, ५१ रजत र ८३ काँस्य सहित दोस्रो स्थानमा छ ।
१४३ स्वर्ण सहित २६९ पदक जितेको भारत शीर्ष स्थानमा छ भने ३६ स्वर्ण जितेको श्रीलंका तेस्रो स्थानमा छ । ३० स्वर्ण सहित पाकिस्तान चौथों, १९ बांग्लादेश पाँचौं र एक स्वर्ण जितेको माल्दिभ्स छैटौं स्थानमा छ । ५ रजत र १३ काँस्य जितेको भुटानले अहिलेसम्म एउटा पनि स्वर्ण जित्न सकेको छैन ।