नेपाली महिला टोलीकी कप्तान निरु थापाको सन्यास
नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान निरु थापाले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास घोषणा गरेकी छन् ।
१३ औं सागको फाइनलमा भारतसँग २–० गोलले पराजित भएलगत्तै कप्तान थापाले सन्यास घोषणा गरेकी हुन् ।
उनीसँगै अर्की डिफेन्डर मनमाया लिम्बूले पनि सन्यास लिएकी छन् ।
यसअघि हारसँगै रजत पदकमा खुम्चिएसँगै महिला टोलीका प्रशिक्षक हरि खड्काले पनि पदबाट राजिनामा दिएका थिए ।
“स्वर्णपदकका लागि हामीले भारतलाई हराउन सकेनौं । त्यसैले नैतिकताका आधारमा म राजिनामा दिन्छु”, खेलपछि पत्रकारसँग कुरा गर्दै खड्काले भने ।
खड्काकै प्रशिक्षकत्वमा गतवर्ष भारतमा सम्पन्न प्रतियोगितामा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको थियो । गत फागुनमा भएको अर्को साफमा भने नेपाल भारतसँग पराजित भएको थियो ।
खड्का गतवर्ष जेठमा राष्ट्रिय महिला टोली प्रशिक्षकमा नियुक्त भएका थिए ।