काठमाडौंमा ‘मर्यादित महिनावारी’ दिवस
नेपालमा पहिलो पटक ‘मर्यादित महिनावारी’ दिवस मनाइएको छ । महिनावारीसँग सम्बन्धित स्वास्थ्य, सरसफाइका साथै मर्यादित महिनावारीका विषयमा काम गर्ने अभियान्ताहरुको पहलमा आइतबार बिहान काठमाडौंको माइतीघर मण्डलामा कोणसभाको आयोजना गरिएको थियो ।
सभामा अभियन्ता राधा पौडेल, अनुपा रेग्मी, शितल सुवेदीलगायतले कविता वाचन तथा मन्तव्य राख्दै महिनावारी भएकै आधारमा हुने विभेद अन्त्य गर्नुपर्ने बताए ।
आइतबार नै विभिन्न ६ वटा प्रदेशको पनि विभिन्न जिल्लामा कार्यक्रम भइरहेको दिवसको संयोजन गरिरहेको राधा पौडेल फाउन्डेसनले जनाएको छ । यो दिवस विश्वका विभिन्न देशमा पनि डिसेम्बर ८ (आज) कै दिन मनाउन थालेका छन् ।
मदन पुरस्कार विजेता समेत रहेकी अभियन्ता राधा पौडेलले महिनावारी भएका बेला एक्लै राखिंदा किशोरी/महिलाहरुले यौनजन्य हिंसा बलात्कार तथा ज्यान समेत गुमाइरहनु परेकाले महिनावारीका कारण गरिने सबैखाले हिंसा अन्त्यको पहल घरघरबाट शुरु गर्ने पर्ने बताइन् ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०) कै अवसर पारेर डिसेम्बर ८ का दिने यो दिवस मनाउने निर्णय भएको हो । दिवसको नारा ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानवअधिकारका लागि मर्यादित महिनावारी’ राखिएको छ ।
माइतीघर मण्डलाबाटै मर्यादित महिनावारी लेखिएको ब्यानरसहित सुन्तला रङको ब्यानर पनि उडाइएको थियो । सुन्तला रङ हिंसा विरुद्धको विश्वव्यापी अभियान (अरेन्ज दि वल्र्ड) को सिम्बोल हो ।