‘फलानाजी’ का लागि संविधान संशोधन हुँदैन: केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने बताएका छन् ।
नेकपा एमाले प्रदेश नम्बर ३ सङ्गठन विभागले आज ललितपुरमा आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि प्रशिक्षण कार्यक्रम’ मा ओलीले भोलि हुने तीन दलको बैठकमा आफूले राष्ट्रहितका पक्षमा नै अडान लिने बताए ।
संविधान संशोधनसम्बन्धी विषयमा उनले भने, “तीन करोड नेपालीको साझा मुलुक भएकाले ‘फलानाजी’ मान्नुभएन भन्दैमा एमाले संशोधनका लागि सहमत हुँदैन ।”
मित्रताका नाममा देशलाई कुठाराघात गर्न नदिनेमा भन्दै उनले परराष्ट्र नीति सञ्चालनको आधार राष्ट्रहित, अन्तर्राष्ट्रिय सम्बन्ध र न्याय नै हुने बताए ।
“संविधान कार्यान्वयनका लागि ऐन/कानुनको निर्माण, आयोग गठन, सीमासम्बन्धी अस्पष्टता हटाउनु पर्ने खाँचो छ,” उनले भने ।
सातभन्दा बढी प्रदेशको माग गर्दा देश ध्वस्त हुने भन्दै उनले थपे, “गरिब देशमा कतिवटा सरकार, कति संसद् र कति मुख्यमन्त्री थेग्ने भन्ने पनि सोच्नुपर्छ ।”
रासस