सोमबार नेकपाको सचिवालय बस्दै, केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्ने तयारी भएको छ ।
तल्लो कमिटीलाई उपनिर्वाचन परिणामको समीक्षा प्रतिवेदन मागेको नेकपाले सचिवालय बैठकमा पराजयको कारणबारे छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
सचिवालय बैठककाे तयारीका लागि अध्यक्ष पुष्पकमल दाहालले खुमलटारमा आइतबार बिहान केही नेताहरुसँग छलफल गरेका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पाैडेल, सचिवालय सदस्य ईश्वर पाेखरेल, स्कूल विभाग उपप्रमुख देवेन्द्र पाैडेल सँग दाहालले छलफल गरेका हुन् ।
१४ मंसीरको उपनिर्वाचनमा धरान र भक्तपुर गुमाए पछि १८ मंसिरमा सचिवालय बैठक बसेको थियो । त्यही बैठकले तल्लो कमिटीबाट उपनिर्वाचनको समीक्षा आएपछि सोमबार छलफल गर्ने तयारी गरेको हो ।
सोमबारको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे समेत छलफल गर्ने भएको छ । ३ जेठ २०७५ मा पार्टी एकीकरण भए पनि नेकपाको केन्द्रीय सदस्यहरुको बैठक एक पटक पनि बस्न सकेको छैन ।