रिपोर्ट आइतबार, मंसिर २२, २०७६

गढीमाई मेला: बलिको विकल्प

शुष्मा बराली

गढीमाई मेला: बलिको विकल्प
गढीमाईमा भक्तजनको भीड । तस्वीरहरु: मनिष पाैडेल

पशु अधिकारका पक्षमा भएका अभियानलाई गढीमाई मेला सञ्चालन तथा विकास समितिका पदाधिकारी र स्थानीयले पनि साथ दिएपछि बलिको विकल्प खोज्न थालिएको छ।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवकी श्रीमती अनितादेवीले गढीमाईमा राँगो बलि चढाउने भाकल गरेकी थिइन् । तर, यादवले राँगोको सट्टा गढीमाई पञ्चवर्षीय मेला मूलसमितिलाई रु.८ हजार दिएको बताए ।

बलि निरुत्साहनका लागि दिइने पशुको मूल्य बराबरको उक्त रकम पछि गढीमाई सञ्चालन तथा विकास समितिको खातामा जम्मा गरिन्छ ।

सर्वोच्च अदालतले २०७३ सालमा बलि प्रथालाई विस्तारै घटाउँदै लैजान आदेश दिएको थियो । विभिन्न गैरसरकारी संस्थाले गर्ने बलिप्रथा विरुद्धको जनचेतनामूलक कार्यक्रममा मन्दिर व्यवस्थापक र स्थानीयले पनि साथ दिएको गढीमाई सञ्चालन तथा विकास समिति महासचिव मोती कुशवाह बताउँछन् ।

भन्छन्, “मन्दिरका पुजारीले पशुबलि दिन लगाउँदैनन्, भक्तले आफ्नो इच्छाले दिने हो । धार्मिक आस्थासँग जोडिएको चलन हुनाले एकैपटक हटाउन सकिंदैन तर, धेरै कम भइसकेको छ ।”

गढीमाई मेलामा एकै पटक १० हजार पशुको बलि समेत दिइएको तथ्याङ्क छ । तर, यो वर्ष चार हजार बलि मात्र दिइएको कुशवाहले बताए । ३० मंसीरसम्म लाग्ने एकमहीने मेलामा बलि भने १७ र १८ गते मात्र दिइन्छ ।

हतियार प्रदर्शनमा बलिका पशु मारक ।

भारतबाट आउने दर्शनार्थीले पनि बलिको विकल्प रोज्न थालेका छन् । रामेश्वर पाण्डे (६५) गढीमाई दर्शनका लागि विहारबाट परिवारसहित आएका हुन् । लगातार छैटौंपटक मेला भर्न आएका उनले यसपटक भाकल पूरा गर्न परेवा उडाए । उनी भन्छन्, “म मांसाहारी नै भए पनि काटमार मन नपर्ने हुनाले भाकल पूरा गर्न परेवा उडाएँ ।”

गढीमाईमा बलि प्रथा विस्तारै कम हुँदै गएको महागढीमाईका मेयर यादव बताउँछन् । भन्छन्, “सरकार वा अदालतबाट आधिकारिक पत्र नआएकाले मन्दिर परिसरमा बलि रोकेका छैनौं । पर्खालले घेरेर व्यवस्थित बनाएका छौं ।”

यसपटक १९ मंसीरसम्ममा ७० लाख भक्तजनले मेला भरिसकेको गढीमाई सञ्चालन तथा विकास समितिका महासचिव कुशवाहको दाबी छ । ३० मंसीरसम्ममा एक करोडले गढीमाई दर्शन गर्ने उनको अनुमान छ ।

अधिकारवादी सक्रिय

गढीमाईमा बलिको विकल्प खोज्न पशु अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले अभियान चलाइरहेका छन् । यसपटक अधिकारकर्मीले मेलाको एक महीनाअघिदेखि अभियान चलाएका थिए ।

बाराको बरियारपुरमा बलि विरुद्ध दुई वर्षदेखि जनचेतनामूलक कार्यक्रम गर्दै आएको पशु कल्याण संघ नेपालले यसपटक नेपाल–भारत सीमा क्षेत्रमा पनि कार्यक्रम गरेको अध्यक्ष स्नेहा श्रेष्ठले बताइन् ।

संस्थाले गढीमाईमा बलि दिन ल्याइने राँगाको अवैध ओसारपसार रोक्न दुई सय जना स्वयम्सेवक सीमा क्षेत्रमा खटाएको थियो । पशु अधिकार सम्बन्धी कानून नबनेकाले बलि प्रथाले प्रश्रय पाइरहेको उनको भनाइ छ । उनी भन्छिन्, “बलिको सुरक्षाका लागि सरकारले पुलिस खटाउँछ, त्यसकारण सरकारले बलि प्रथाको निरुत्साहन होइन, अदालतको आदेश विपरीत प्रोत्साहन गरिरहेको छ ।”

मन्दिरमा बलि दिन ल्याइएका राँगा ।

गढीमाईमा भारतबाट समेत पशु अधिकारकर्मी आएर बलि विरोधी अभियान चलाएका छन् । भारतको ‘एनिमल इक्वालिटी’ संस्थाकी प्रतिनिधि अम्रुता उबाका अनुसार संस्थाले १० वर्षदेखि गढीमाईमा बलि दिइने पशुको पक्षमा काम गरिरहेको छ ।

भारत र नेपाल सरकारका विभिन्न निकायसँगको सहकार्यमा आफूहरूले जनचेतनामूलक काम गरिरहेको उनी बताउँछिन् । “खुला सीमामा अवैध तरिकाले ओसारपसार हुने पशु नियन्त्रण गर्न सके केही हदसम्म बलि नियन्त्रण हुन्छ । यसका लागि दुवै सरकारले ध्यान दिनुपर्छ”, उनी भन्छिन् । सरकारले पशुबलिको विकल्प दिनुपर्ने पनि उनी बताउँछिन् ।

अन्धविश्वासको निरन्तरता

पर्साबाट आएकी अमृता साह (२९) ले छोराको स्वास्थ्य राम्रो होस् भनेर भाकल गरिन् । दुई सन्तानकी आमा उनी कान्छो छोराको स्वास्थ्य बिग्रिएपछि गढीमाई आएकी हुन् । उनी भन्छिन्, “कान्छो छोरा चार वर्षको छ । जन्मिएदेखि नै बिरामी भइरहन्छ । गढीमाईलाई अर्को पटकको पूजामा बलि दिन्छु भनेर आशीर्वाद माग्न आएकी हुँ ।”

पर्सा पोखरियाका सन्तोष सहनी (३५) ले अघिल्लो पटकको गढीमाई मेलामा बोको बलि दिएका थिए । छिमेकीसँग जग्गाको विषयमा झ्गडा भएपछि जमीन जोगाउन भाकल गरेको उनी बताउँछन् । “छिमेकीले मेरो जग्गा हडप्न पाएन, गढीमाईले मेरो परिवारको मनोकांक्षा पूरा गरेकोले अघिल्लोपटक बलि दिएँ । यसपटक भने दर्शन गर्न मात्र आएको हुँ”, उनी भन्छन् । प्रत्येक मेलामा दर्शन गर्न आउने गरेको उनी बताउँछन् ।

गढीमाई मन्दिरको ११औं पुस्ताका मुख्य पुजारी शिव चौधरीले विधिवत् मन्त्रोच्चारण गरेर मन्दिरको पीपलको बोटमा तोरण, रातो ध्वजा राख्नुका साथै मन्दिर अगाडि भएको पुरानो त्रिशूल हटाएर नयाँ राखेपछि पञ्चबलि शुरू हुन्छ ।

गढीमाईमा भक्तहरूले बलि दिनुअघि पुजारीले बोका, कुखुरा, परेवा, मुसा र राँगाको पञ्चबलि दिन्छन् । त्यसपछि सिमरीगाउँका धामी दुखा गोचारियाले आफ्नो आँखाको तल्लो भाग, जिब्रो, पाखुरा, छाती र तिघ्राबाट पाँच थोपा रगत चढाउने परम्परा छ ।

 

प्रतिकृया दिनुहोस