समाचार शनिबार, मंसिर २१, २०७६

पाँचै बलमा माल्दिभ्स पराजित, नेपाललाई काँस्य पदक

हिमालखबर

पाँचै बलमा माल्दिभ्स पराजित, नेपाललाई काँस्य पदक
null

दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेटमा नयाँ रेकर्ड सहित नेपालले काँस्य पदक जितेको हो ।

माल्दिभ्सले दिएको ८ रनको चुनौती नेपालले पाँच बलमै भेटाउँदै नेपाल १० विकेटले विजयी हुँदै काँस्य पदक सुरक्षित गरेको छ । नेपालका लागि रोमा थापा ५ र काजल श्रेष्ठले दुई रन ल्याउन भने एक रन एक्स्ट्रा मिल्यो ।

टस जितेर ब्याटिङ रोजेको माल्दिभ्सलाई नेपालले ८ रनमै अलआउट गरेको थियो । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा यो अहिलेसम्मकै कम रन हो ।

सवैभन्दा थोरै रनको चुनौती प्रस्तुत गर्ने रेकर्ड भने माली महिला क्रिकेटको छ । १८ जुन २०१९ मा रुवान्डा विरुद्ध मालीले ६ रन मात्रै बनाएको थियो ।

माल्दिभ्सका खेलाडीको ब्याटबाट एक रन मात्रै निस्कियो । ११.३ ओभरमा अलआउट भएका माल्दिभ्सका लागि सात रन एक्स्ट्राबाट प्राप्त भएको हो । नेपालका लागि भने भुटान विरुद्धको खेलमा विश्व कीर्तिमान बनाएकी अञ्जली चन्दले शानदार प्रदर्शन गरिन् ।

अञ्जलीले चार ओभरमा तीन मेडन सहित चार विकेट लिदा एक रन मात्रै दिएकी छन् । अञ्जलीले वाइडबाट एक रन दिएकी हुन् ।

अञ्जलीले आइमा ऐशाथलाई एलबीडब्लू गरिन् । हाज्मा, इयसाललाई बोल्ड गरिन् भने हाज्सा अब्दुलहालाई करुण भण्डारीको हातबाट क्याच गराएकी थिइन् ।

कप्तान रुविना क्षेत्री र सरिता रानामगरले दुई–दुई विकेट लिइन् भने सुमन खड्का र करुणा भण्डारीले एक–एक विकेट लिइन् ।

 

प्रतिकृया दिनुहोस