माल्दिभ्सले बनायो विश्वकै दोस्रो कम रनको रेकर्ड
दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेटमा नयाँ रेकर्ड बनेको छ । टस जितेर ब्याटिङ रोजेको माल्दिभ्सले नेपाललाई ९ रनको चुनौती दिएको छ ।
अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा यो अहिलेसम्मकै कम रनको चुनौती प्रस्तुत भएको दोस्रो हो । सवैभन्दा थोरै रनको चुनौती प्रस्तुत गर्ने रेकर्ड भने माली महिला क्रिकेटको छ । १८ जुन २०१९ मा रुवान्डा विरुद्ध मालीले ६ रन मात्रै बनाएको थियो ।
माल्दिभ्सका खेलाडीको ब्याटबाट एक रन मात्रै निस्कियो । ११.३ ओभरमा अलआउट भएका माल्दिभ्सका लागि सात रन एक्स्ट्राबाट प्राप्त भएको हो । नेपालका लागि भने भुटान विरुद्धको खेलमा विश्व कीर्तिमान बनाएकी अञ्जली चन्दले शानदार प्रदर्शन गरिन् ।
अञ्जलीले चार ओभरमा तीन मेडन सहित चार विकेट लिदा एक रन मात्रै दिएकी छन् । अञ्जलीले वाइडबाट एक रन दिएकी हुन् ।
अञ्जलीले आइमा ऐशाथलाई एलबीडब्लू गरिन् । हाज्मा, इयसाललाई बोल्ड गरिन् भने हाज्सा अब्दुलहालाई करुण भण्डारीको हातबाट क्याच गराएकी थिइन् ।
कप्तान रुविना क्षेत्री र सरिता रानामगरले दुई–दुई विकेट लिइन् भने सुमन खड्का र करुणा भण्डारीले एक–एक विकेट लिइन् ।