रिपोर्ट शुक्रबार, मंसिर २०, २०७६

बादी विद्यालयकाे बिजाेग

शुष्मा बराली

बादी विद्यालयकाे बिजाेग
तस्वीर: शुष्मा बराली

नर्सरीदेखि १ कक्षासम्म पढाइ भइरहेको विद्यालयका १७३ बालबालिकाले न पुस्तक पाउँछन् न त कापीकलम र खाजा नै। शिक्षकले तलब नपाएको पनि ९ महीना भइसकेको छ।

कैलालीको लम्कीचुहास्थित महेन्द्र राजमार्गसँगै जोडिएको बादी बस्तीमा तीन वर्षअघिसम्म कुनै विद्यालय थिएन । स्थानीय अगुवा नन्दराम बादी, रमा बादी, पार्वती बादी, ज्ञानबहादुर बादी लगायतको पहलमा २०७३ सालमा आगमन बाल विकास केन्द्र त खुल्यो तर, अहिले बन्द हुने अवस्थामा पुगेको छ ।

नर्सरीदेखि १ कक्षासम्म पढाइ भइरहेको विद्यालयमा १६२ घरधुरीका ८३ बालबालिका अध्ययन गर्छन् । विद्यालयमा तीन शिक्षक छन् ।

यसअघि गैरसरकारी संस्था थ्री एन्जल्सले विद्यालयलाई सहयोग गरिरहेको थियो । “उक्त संस्थाले सहयोगको नाममा बादी समुदायलाई प्रयोग गरेको थाहा भएपछि सहकार्य बन्द गरेका हौं”, स्थानीय अगुवा नन्दरामले भने । बादीका नाममा बजेट संकलन गरेर लक्षित ठाउँमा खर्च नगरेको उनले बताए ।

विद्यालयको नियमित आम्दानी केही नभएको कारण सञ्चालन गर्न समस्या भइरहेको नन्दराम बताउँछन् । “विद्यालयको मासिक खर्च रु.१ लाख ५३ हजार छ, अहिले पाँच जना शिक्षक आवश्यक हुँदा पनि तीन जनाबाटै काम चलाइरहेका छौं”, उनले भने । शिक्षकलाई नियमित तलब दिन पनि नसकेको उनको भनाइ छ ।

थ्री एन्जल्ससँग सहकार्य टुटेपछि विद्यार्थीलाई पुस्तक, खाजा, पोशाक लगायत सामग्री दिन नसकेको प्रधानाध्यापक राहुल बादीले बताए । “हामीले पनि तलब नपाएको ९ महीना भइसक्यो” उनी भन्छन्, “विद्यार्थीको संख्या अनुसार थप शिक्षक राख्न त के, भएकैलाई टिकाइराख्न पनि समस्या छ ।”

विद्यालयमा न पर्याप्त ठाउँ छ, न शैक्षिक र अतिरिक्त क्रियाकलापका सामग्री नै छन् । चिसो मौसममा बालबालिकाले विद्यालय छाड्ने गरेको उनको भनाइ छ । “न्यानो लुगा नहुँदा बालबालिका घरमै आगो तापेर बस्छन्, टिनको छानामुनि एकसरो लुगामा विद्यार्थीलाई रोकिराख्न समस्या छ”, उनले भने ।

बादी समुदाय र विद्यालयलाई आर्थिक सहयोग गर्न विभिन्न संस्था आए पनि शैक्षिक अवस्थामा सुधार नआएपछि बाल विकास केन्द्रलाई सहयोग जुटाउन आफूहरूले नै ‘बादी समुदाय सहयोग नेपाल’ संस्था दर्ता गरेको अगुवा नन्दरामले बताए ।

विद्यालयमा न पर्याप्त ठाउँ छ, न शैक्षिक र अतिरिक्त क्रियाकलापका सामग्री नै छन् । टिनको छानामुनि एकसरो लुगामा विद्यार्थीलाई रोकिराख्न समस्या छ । 

प्रस्तावित विद्यालयलाई लम्कीचुहा नगरपालिका र शिक्षा विभागले २०७६ माघदेखि स्वीकृति दिने जनाएकाले केन्द्रलाई केही सहज हुने उनको अपेक्षा छ ।

विभेदले जन्मायो विद्यालय

बादी बस्ती नजिक जीवनदीप प्रावि छ । अधिकांश बालबालिका थारू समुदायका भएकाले आफ्ना बालबालिकालाई भाषाको समस्या भएको नन्दराम बताउँछन् ।

माध्यमिक तह अध्ययनका लागि लम्कीबजारको विद्यालय सबैभन्दा नजिक पर्छ । करीब ६०० मिटरको दूरीमा अरू चार वटा विद्यालय छन् । तर, ती विद्यालयमा हुने विभेद र अमर्यादित व्यवहारकै कारण बालबालिका विद्यालय जान निरुत्साहित हुने गरेको बाल विकास केन्द्रका प्रधानाध्यापक राहुल बताउँछन् ।

“बादी समुदायका बालबालिकालाई अगाडि बेन्चमा बस्न नदिनेदेखि गृहकार्य चेकजाँच नगर्ने, रुखो बोल्ने जस्ता दुर्व्यवहार शिक्षकबाटै हुन्छ” उनी भन्छन्, “ती विद्यालयमा बादी बालबालिकाले एक्लो र हीनताको महसूस गर्ने भएकैले छुट्टै विद्यालय आवश्यक भएको हो ।”

बस्तीमा नै विद्यालय खुलेपछि अभिभावकलाई पनि बालबालिका पढाउन उत्साह बढेको उनी बताउँछन् । अब विद्यालयलाई माध्यमिक तह सञ्चालन गर्न दिनुपर्ने राहुलको भनाइ छ ।

विद्यालय स्थापनाका अभियन्ता तथा सामाजिक अगुवा नन्दराम पनि मध्यपश्चिम र सुदूरपश्चिममा छरिएर रहेका बादी समुदायका बालबालिकाका लागि छात्रावास सहितको कक्षा १० सम्मको विद्यालय स्थापना गर्नुपर्ने बताउँछन् ।

त्यसका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, जनशक्ति लगायतको व्यवस्था गर्न आफूहरूले माग गरिरहेको उनी बताउँछन् । अहिलेकै अवस्थामा भने बाल विकास केन्द्र समेत सञ्चालन हुन नसक्ने उनले बताए ।

 

प्रतिकृया दिनुहोस