छोराले गरे बुवाआमाको हत्या
रुपन्देहीको ओमसतिया गाउँपालिका ४ बालापुरमा छोराले धारिलो हतियार प्रयोग गरी बुवाआमाको हत्या गरेका छन् ।
अन्य चार जना घाइते छन् । मृत्यु हुनेमा ७२ वर्षीय बुवा रामनारायण यादव, आमा ७० वर्षीया थगनी यादव हुन् ।
बुवाको घटनास्थलमै मृत्यु भएको थियो भने आमाको भैरहवा मेडिकल कलेजमा उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए ।
हत्या गर्ने २८ वर्षीय कान्छो छोरो गोरख यादव चार वर्षदेखि मानसिक औषधि सेवन गर्दै आएको मृतक रामनारायणकी छोरी सरस्वती यादवले बताइन् ।
गाउँमा आफन्तको विवाह भोज खाएर घरमा सुतेका बुवालाई छोरो गोरखले धारिलो हतियार घाँटीमा प्रहार गरेका थिए ।
उनलाई छुट्याउन आएकी आमालाई समेत हतियारले हिर्काए । बचाउन आएका ठूला दाइ जोगेन्दर, उनकी श्रीमती उषा, छोरा जोखन, र माहिली बुहारीलाई पनि हतियार प्रहार गरे। उनीहरु सामान्य घाइते छन् ।
हत्या गर्ने गोरखलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ । मृतकको शव पोष्टमार्टमका लागि भीम अस्पतालमा राखिएको रुपन्देही प्रहरीले जनाएको छ।