नेपालकै ठूलो ब्यांक बन्यो ग्लोबल आइएमई
जनता ब्यांक मर्जर पछि ग्लोबल आईएमई ब्यांक नेपालकै ठूलो बनेको छ । जनतासँग मर्जरसँगै ग्लोबल आईएमई पूँजी, व्यवसाय र शाखा सञ्चालनमा समेत देशकै ठूलो बनेको हो ।
ग्लोबलको ब्यांकको प्राथमिक पूँजी करीब अर्ब (चुक्ता १९ अर्व र सञ्चित), निक्षेप दुई खर्ब १३ अर्व र कुल कर्जा एक खर्ब ९४ अर्ब नाघेको छ । सातै प्रदेश र ७७ वटै जिल्ला पुग्नेगरी ८४० सेवा केन्द्रबाट सेवा प्रदान गर्ने ब्यांकले जनाएको छ ।
ग्लोबलको तीन सय बढी शाखा, २५९ एटीएम, २४३ शाखा रहित ब्यांकिङ सेवा र ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालन हुनेछ ।
जनता ब्यांकसँग मर्जरपछि शुक्रबारबाट एकीकृत वित्तिय कारोबार शुरु भएको छ । अर्थमन्त्री डा.यवराज खतिवडाले एकीकृत कारोबारको उद्घाटन गरे ।
उद्घाटन समारोहमा राष्ट्र ब्यांकका गर्भनर डा.चिरञ्जिवी नेपालले ग्लोबल ब्यांकबाट अरु ब्यांकले पनि सिक्नुपर्ने बताए । ग्लोबल आईएमईलाई सुझाव दिदै गर्भनर नेपालले भने, “यो ठूलो वित्तीय संस्था भयो, पुँजी र सबै हिसाबले । अब निक्षेपकर्ताहरुको अपेक्षा पनि बढ्न जान्छ, त्यसैले त्यसतर्फ काम गर्नु होला ।”
ब्यांकहरुमा पछिल्लो समय कमजोरी देखिएकाले त्यसबाट बच्न गर्भनर नेपालले सुझाव दिए । उनले भने, “ब्यांकहरुमा पछिल्लो समयमा धेरै कमजोरी देखिएका समाचार सुनिन्छ । यस्ता चुनौतीबाट ब्यांकलाई बचाउन डिजीटलाइजेसनमा बढी लगानी गर्नुपर्छ । साथै कर्मचारीलाई समय सापेक्ष तालिम दिने, उनीहरुलाई अद्यावधिक गर्ने र सक्षम बनाउने काम पनि अघि बढाउनुपर्यो ।”
उनले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो ब्यांकिङ्ग सेवा प्रदान गर्न अझ सहज हुने उनले बताए ।
जनता ब्यांकका अध्यक्ष केशवबहादुर रायमाझीले मुलुकको अर्थतन्त्र र जनसंख्याको तुलनामा ब्यांक तथा वित्तीय संस्था बढी भएपनि मुलुकको विकासका लागि आवश्यक ठूला परियोजनामा वित्तीय लगानी गर्न नसकिने अवस्था रहेको बताए ।
नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष विष्णु अग्रवालले ब्यांकको आकार ठूलो भएसँगै ठूला ठूला परियोजनामा विविधिकरण गरेर लगानी गर्नुपर्ने बताए । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बजारमा निक्षेप परिचालनमा ब्यांकहरुबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेको अवस्थामा ब्यांकहरु एकआपसमा मर्जरमा गएर राम्रो सन्देश दिएको बताए ।