टिप्पणी शुक्रबार, मंसिर २०, २०७६

सम्पदा संरक्षणमा हराएको चेत

वसन्त महर्जन

सम्पदा संरक्षणमा हराएको चेत
पुनर्निर्माणपछि खास्ति चैत्य (बौद्ध) । तस्वीर: हिमाल आर्काइभ

विश्व सम्पदा सूचीमा परेका संसारभरका सम्पदा वरिपरि ‘गर्न नहुने’ कार्यहरूको मापदण्ड तोकिएको हुन्छ तर हामीकहाँ भने त्यसलाई बेवास्ता गरिन्छ।

वसन्त महर्जन

१२ वैशाख २०७२ सालमा आएको भुइँचालोमा काठमाडौं सुन्धारास्थित धरहरा दक्षिणतिर ढल्यो । २०५० सालअघि नै गरिएको एक अध्ययनले धरहरा दक्षिणतर्फ ढल्किसकेको तथ्य औंल्याए पनि त्यसको मर्मतसम्भार गरिएन ।

काष्ठमण्डपका चार खम्बामध्ये एउटाको ‘ईल्वहं’ (खम्बा मुनिको ढुङ्गो) यथास्थानबाट केही सरेकाले भुइँचालो थेग्न नसकेर ढलेको कुरा बेलायतस्थित डुर्हाम युनिभर्सिटीका रविन कनिङ्घमको नेतृत्वमा रहेको टोलीले गरेको उत्खनन् एवं अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यसलाई अघिल्लो पल्ट जीर्णोद्धार गर्दै पत्तो लगाएर मर्मत गर्न सकेको भए संभवतः त्यो भुइँचालोले काष्ठमण्डप भत्कने थिएन ।
२०७२ सालकै भुइँचालोका कारण खास्ति चैत्य (बौद्ध) मा पनि धेरै क्षति भयो । जीर्णोद्धारमा संलग्न भएकाहरूका अनुसार भुइँचालो आउनुअघि नै चैत्यका विभिन्न अवयवहरूमा खराबी आइसकेको थियो । भुइँचालो नआएकै भए पनि केही समयपछि चैत्यको जीर्णोद्धार गर्नैपर्ने अवस्था आउँथ्यो ।

भुइँचालोमा क्षति भएका प्रायः सम्पदाको जगमा क्षति पुगेको पाइँदैन । यसको सोझाे अर्थ हो, सम्पदाहरूको निरीक्षण तथा आवश्यक मर्मतसम्भारमा ध्यान दिन सकेको भए उपत्यकाका सम्पदाहरूमा यति धेरै क्षति हुँदैनथ्यो ।

गल्ती हुनसक्छ तर त्यसबाट पाठ सिक्नु जरूरी छ । सम्पदाका सवालमा भने पाठ सिक्ने काम भइरहेको छैन । क्षतिग्रस्त सम्पदाहरूमध्ये कतिपय पुनर्निर्माणकै क्रममा छन् भने कतिपयको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ । खास्ति चैत्य (बौद्ध) सबैभन्दा पहिला पुनर्निर्माण कार्य सम्पन्न भएको चर्चित सम्पदा हो ।

सम्पदा क्षेत्रमा ठूला–ठूला गाडी कुदाउनु कालान्तरमा ठूलै जोखिम मोल्नु हो । नेपाली स्रोत गोपाल वंशावली अनुसार सातौं शताब्दीमा निर्माण भएको खास्ति चैत्य वरिपरि तीन दशकअघिसम्म न बाक्लो बस्ती थियो, न त ठूलाठूला गाडी गुड्ने फराकिलो सडक नै ।

चैत्यको दक्षिणपट्टि केही मिटरको दूरीमा रहेको बाटोमा आजभोलि दिनभर मालबाहक गाडी समेत गुडिरहेका हुन्छन् । अझ त्यो बाटोलाई २२ मिटर चौडा बनाउन चैत्यको प्रवेशद्वार नै भत्काउने उद्देश्यले चिह्न लगाइएको थियो ।

पछि केही कारणले त्यो भत्किनबाट जोगियो । अहिलेको सडकभन्दा अलि पर अर्को बाटो बनाउन सकिने विकल्प हुँदाहुँदै पनि त्यसतर्फ ध्यान दिइएको छैन ।

अर्को सम्पदा ‘काष्ठमण्डप’ अहिले पुनर्निर्माण भइरहेकै छ तर त्यसकै छेउबाट दिनभरि गाडीहरू गुडिरहेका छन् । यसरी नै भर्खरै मर्मत सकिएको गद्दी बैठकदेखि नौतले दरबारसम्मका भवनहरूको पनि पुनर्निर्माण कार्य हुँदैछ । यो बाटोमा पनि गाडीहरू गुड्छन् । यसबाट पनि ऐतिहासिक तथा सांस्कृतिक सम्पदा जोगाउन आवश्यक संवेदनशीलता नभएको प्रष्ट हुन्छ ।

सम्पदा हाम्रा पहिचान हुन्, संरक्षण गर्नुपर्छ भनेर सिकाउने चेत भए पनि के गर्दा संरक्षण हुन्छ भन्ने कुरा सिकाउन चुकेको देखिन्छ । यी सम्पदाहरू पर्यटन उद्योगका लागि ‘सर्वाधिक आकर्षणको केन्द्र’ हुन् तर हाम्रा कामकारबाही तथा सोच पर्यटनउन्मुख छैनन् । यसको अर्थ हो, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे हाम्रो दृष्टिकोण स्पष्ट छैन ।

विश्व सम्पदा सूचीमा परेका सम्पदा वरिपरि ‘गर्न नहुने’ कार्यहरूको मापदण्ड नै बनाइएको हुन्छ । नेपालमा भने त्यस्ता मापदण्ड बेवास्ता गर्ने वा अटेर गरेर बस्ने प्रवृत्ति छ । बेलामौका युनेस्कोले विश्व सम्पदा सूचीमा परेका सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी नेपाललाई दिइराख्नुको कारण पनि यही हो ।

विश्वलाई चकित पार्ने आधुनिक भौतिक संरचनाहरू निर्माण गर्न नसक्ने नेपाल जस्ता मुलुकले यस्तै ऐतिहासिक तथा सांस्कृतिक संरचना मार्फत विश्वको ध्यानाकर्षण गर्ने हो ।

संसारका प्रायः ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रमा अमूर्त संस्कृतिको अभाव हुने गर्दछ तर नेपालमा मूर्त र अमूर्त दुवै संस्कृति एकसाथ पाउन सकिन्छ । अमूर्त संस्कृतिले ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको वातावरण मौलिक र जीवन्त बनाइदिन्छ । नेपालमा मूर्त र अमूर्त संस्कृति एक–अर्काको परिपूरक हुनु थप आकर्षण हो ।

विश्वभरका पर्यटकहरू ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अवलोकन गर्नकै लागि हाम्रो जस्ता मुलुकमा आउने हुन् । विश्वजगतमा नेपाललाई चिनाउने र विदेशी मुद्रा आर्जन गर्ने राम्रो माध्यम पनि यिनै पर्यटकीय महत्व बोकेका सम्पदास्थल हुन् । यी सम्पदालाई नेपालले जति संरक्षण र संवर्द्धन गर्न सक्यो यसको महत्व त्यति नै बढ्छ । यसैले सम्पदाहरूको संरक्षण गर्न आवश्यक नीतिनियमहरू यथाशीघ्र बनाई कार्यान्वयन गर्नुपर्छ ।

नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा केही दशकअघिसम्म पैदलमार्ग भएरै पुग्नुपर्थ्याे। सम्पदा क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरेर पर्यटकलाई पैदल हिंडाउँदै अवलोकन गराउनु पर्यटकीय क्षेत्रको सामान्य प्रचलन हो ।

प्रतिकृया दिनुहोस