टिप्पणी शुक्रबार, मंसिर २०, २०७६

देश फर्किएकाको ‘समृद्धि मोडल’

हिमालखबर

देश फर्किएकाको ‘समृद्धि मोडल’
कावासाेती, नवलपरासीका पञ्चराम महताेले दुबईबाट फर्केर सञ्चालन गरेकाे हाेम स्टे । तस्वीर: चेतन अधिकारी ।

–चेतन अधिकारी

विदेशबाट फर्किएका युवाहरूले आफूले सिकेका सीप प्रयोग गर्दै सञ्चालन गरेका सफल उद्यम, व्यवसायमा सरकारको प्रोत्साहनले बाँकी युवालाई स्वदेश फर्काउन तथा थप युवा विदेशिनबाट रोक्न सक्छ।

चेतन अधिकारी

१३वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी दुबईमा काम गरेर पाँच वर्षअघि नेपाल फर्किएका उत्तम अधिकारीले आफू जस्तै तीन जना साथीसँग मिलेर काठमाडौं, सुकेधारामा ‘क्लिनिङ सेन्टर’ खोले ।

विदेशमा निकै प्राथमिकता दिइने यो क्षेत्रबारे धेरै नेपालीलाई थाहै थिएन । त्यसैले अधिकारीले शुरूमा त आफ्नो सेवाको महत्व बुझाउनमै समय खर्चे । अहिले करीब १०० जना मजदूर क्लिनिङ सेन्टरमा कार्यरत छन् । सामुदायिक भवन, अस्पताल, विद्यालय, कार्यालय मात्र होइन, व्यक्तिका घर सफाइमा सेन्टरबाटै मजदूर आपूर्ति भइरहेको छ ।

गौशालामा होटल खोलेका काठमाडौं गौरीघाटका दामोदर नेपाल पाँच वर्ष यूएई बसे । अहिले उनैले २० जनालाई रोजगारी दिएका छन् ।

उनीसँग रोचक अनुभव त के छ भने, वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाएर उड्ने दिन कुरिरहेका कतिलाई उनले सम्झाई–बुझाईमै काम गर्ने मनस्थितिमा पुर्‍याएका रहेछन् । केहीलाई रोजगारी पनि दिएका छन् ।

११ वर्षदेखि यूएईमा रहेका नवलपरासीका रामप्रसाद महतोेले दुबईका साथीहरूमाझ बचत अभियान नै चलाए, जसमा करीब डेढ करोड रुपैयाँ जति जम्मा भयो । त्यो रकमले यो समूहले नवलपरासीकै कावासोतीमा डिपार्टमेन्टल स्टोर खोल्यो ।

केही समयपछि जिल्लाकै कावासोतीस्थित डण्डा बजारमा पनि यस्तै खोलियो । अहिले ती पसलमा ३० युवाले रोजगारी पाइरहेका छन् । लगानी पनि रु.५ करोड पुगेको छ ।

कावासोतीका फञ्चराम महतो पनि दुबईमा पाँच वर्ष बसे । त्यहाँको कमाइ, सीपले उनलाई स्वदेशमै केही गर्ने आँट पलायो ।

कावासोती फर्किएर उनले फर्निचर व्यवसाय थालनी गरे । गाउँमा होम–स्टेको अभियान चल्यो । दुबईमा इमिरेट्स फ्लाइट क्याटरिङमा कामको अनुभव बटुलेका उनले अहिले १५ कट्ठा जग्गा किनेर ‘ग्रीन जङ्गल थारू होम स्टे’ चलाइरहेका छन् । पाँच जनाले रोजगारी पाएको होमस्टेमा महतो स्वयं थारू परिकारलाई युएई स्वादमा पाहुनालाई पस्कन्छन् ।

२९ जनाले रोजगारी पाएको कावासोतीको ‘थारू महिला सांस्कृतिक अतिथि गृह होम स्टे’ र झण्डै १६ करोड रुपैयाँको लागतमा निर्माणाधीन ३००० मेट्रिक टन क्षमताको शीतभण्डारमा पनि उनै देश फर्किएकाका प्रवासीकै लगानी छ । 

संयोगले गएको ६ मंसीर २०७६ मा नवलपरासीमा यस्ता केही उत्साही स्वदेश फर्किएका प्रवासी (रिटर्नी माइग्रेन्ट्स) हरूसँग भेट भयो । उनीहरूले गरिरहेको र गर्न खोजिरहेको कामको फेहरिस्त सुनेपछि लाग्यो, आर्थिक विकास र समृद्धिमा यो समूहको योगदान सानै प्रयास भए पनि प्रभावकारी हुँदोरहेछ । 

वैध तथा अवैध माध्यमबाट २० देखि ५० वर्ष उमेर समूहका करीब ५० लाख नेपाली वैदेशिक रोजगारीमा छन् । बहुदलीय व्यवस्थाको पुनर्स्थापनासँगै शुरू भएको नेपाली युवा विदेशिने लर्को संघीय गणतन्त्रात्मक व्यवस्थामा पनि उत्तिकै छ ।

१३ वर्ष यूएईमा बसेर फर्केका उत्तम अधिकारीले काठमाडाैंमा शुरु गरेकाे सफाइ व्यवसायमा कार्यरत कर्मचारी ।

खासगरी स्वदेशमै गरीबी, रोजगार अभाव, कामप्रतिको सम्मानको कमीका कारण गाउँ नै रित्याएर युवा विदेशी भूमिमा पसिना पोखिरहेका छन् ।

पछिल्ला वर्षहरूमा यिनै प्रवासी नेपाली केही उपार्जन, सीप र आत्मविश्वास बोकेर देश फर्कने क्रम पनि बढेको छ । यो समूहले देशभित्रै केही गर्ने सङ्कल्प पनि बोकेको छ । ‘रिटर्नी माइग्रेन्ट नेपाल’ यस्तै एउटा संस्था हो, जसको नारा नै ‘प्रवासमा आर्जित सीप, ज्ञान र पूँजी स्वदेशका लागि’ भन्ने रहेको छ । उत्तम अधिकारी संस्थाका अध्यक्ष हुन् ।

संस्थाका अनुसार, अहिले देशभित्र काम गर्न सक्ने उमेरका ‘रिटर्नी माइग्रेन्ट’ को संख्या करीब ३० हजार छ, जसमा ६ हजार संस्थामा सङ्गठित भइसकेका छन् भने १३ हजार जना सम्पर्कमा छन् ।

सबैलाई सङ्गठित गरी विदेशमा सिकेको सीप र पसिना स्वदेशमा खन्याउने संस्थाको योजना छ । यसका लागि सरकारसँग उनीहरूको दुईवटा माग छ– पहिलो, उनीहरूको सीपलाई सीटीईभीटीले मान्यता दिनुपर्ने र दोस्रो व्यवसायको लाइसेन्स, ब्याङ्किङ प्रक्रिया सहज हुने व्यवस्था मिलाइदिनुपर्ने ।

सरकारलाई मौका

यी मागमा सरकार तत्काल गम्भीर भइहाल्नुपर्ने देखिन्छ । किनभने, स्वयं फर्किएकाहरूकै भनाइमा, अब खाडी मुलुकहरूमा वैदेशिक रोजगारी समय लामो छैन । समृद्धिका कारण ती देशहरूलाई केही वर्षभित्रै नेपाली कामदारको आवश्यकता नपर्न सक्छ, काम गरिरहेकाहरूलाई पनि विदा गरिनेछ ।

यसले रोजगारीमा जाने मात्र होइन, फर्कनेहरू पनि ह्वात्तै बढ्नेछन् । यो अवस्थामा लाखौं युवालाई देशभित्रै एकै समयमा रोजगारीको अवसर उपलब्ध गराउने चुनौती सरकारसामु छ ।

तर, सरकारका लागि यस्तो अवस्था अनुकूल पनि हुनसक्छ, विदेशबाट फर्किएका यिनै युवालाई सारथि बनाएर सरकार समृद्धिको मार्गमा हिंड्न सक्छ । रिटर्नी माइग्रेन्ट नेपाल संस्थाले यस्तै भविष्यको पूर्वानुमान गरी आज व्यवसाय थालेको देखिन्छ ।

“सरकारको समृद्धि अभियानमा सहयोग पुग्ने गरी हामीले थालेको स्वरोजगार काममा विदेशिएकाहरू मात्र होइनन् उता जान खुट्टा उचालेकाहरू पनि प्रेरित भइरहेका छन्” संस्थाका अध्यक्ष अधिकारी भन्छन्, “युवा जनशक्ति देश फर्कनु, देशमै रोकिनु पनि एक हिसाबले समृद्धिको सूचक हुनसक्छ ।”

सरकारले चालु आर्थिक वर्षको बजेटमा वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई व्यवसाय गर्न सहुलियत ब्याजदरमा ऋण दिने घोषणा गरेको छ । तर, यतिले मात्र पुग्दैन ।

सरकारले युवालाई स्वदेशमै टिकाइराख्न ठूला विकास आयोजनाहरूको सञ्चालन, उद्योगधन्दा स्थापना, लघु उद्योगको स्थापना, कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणतर्फ जोड दिनुपर्छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्ता केही कामको आरम्भ पनि गरेको छ, जसलाई सकारात्मक मान्न सकिन्छ ।

सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकांक्षा पूरा गर्न पूरै देशवासी एकजुट हुनुपर्छ । तर, समृद्धिको मूल स्रोत युवा अहिले पनि वैदेशिक रोजगारीलाई नै पहिलो प्राथमिकतामा राखिरहेका छन् । परिणामतः उनीहरूसँगै देशको समृद्धि पनि विदेशिंदो छ ।

समृद्धिको मानव स्रोत स्वदेशमा उपयोग गर्न नसक्दा खासगरी खाडीका देशहरूले फाइदा लिइरहेका छन् । यता हाम्रा खेतबारी बाझा छन्, उता हाम्रै युवाको श्रमले मरुभूमि हराभरा बनेको छ, हिजोसम्म असम्भव जस्ता देखिने आधुनिक इमारत खडा भएका छन् । हाम्रा ‘मणि’ सस्तैमा अरूलाई बेचिरहेका र आफू अभावमा पिल्सिरहेका छौं ।

प्रतिकृया दिनुहोस