रिपोर्ट शुक्रबार, मंसिर २०, २०७६

विद्युतीय सामान: छिटो, सजिलो र सस्तो

मुकेश पोखरेल

विद्युतीय सामान: छिटो, सजिलो र सस्तो

लोडसेडिङको अन्त्यसँगै ग्रामीण भेगसम्म घरायसी विद्युतीय सामग्रीको उपयोग फैलिंदो छ ।

धुनिवेशी नगरपालिका–२ धादिङकी निर्मला आचार्यले मोही पार्न काठको मदानी प्रयोग गर्न छाडेको दुई वर्ष भयो । अहिले उनी विद्युतीय उपकरण प्रयोग गरेर मोही पार्छिन् । परम्परागत विधिबाट मोही पार्न ४०\४५ मिनेट लाग्ने गरेकोमा विद्युतीय मदानीले १० मिनेटमै तयार हुने गरेको उनको अनुभव छ ।

यति मात्र होइन, उनले रु.५० हजारमा धान कुट्ने र मकै–गहुँ पिस्ने मेशिन पनि ल्याएर प्रयोग गरिरहेकी छन् । यसबाट कुटानी–पिसानीका लागि मिल धाउनुपर्ने झञ्झट हटेको उनी बताउँछिन् । दङ्ग पर्दै सुनाउँछिन्, “बिजुलीबाट चल्ने मेशिनका कारण घरायसी काम सजिलो पनि भएको छ र छिटो पनि ।”

छत्रदेव गाउँपालिका–२ अर्घाखाँचीका जगदीश पाण्डेले डेढ वर्षअघि घरमा वाशिङ मेशिन राखे । पहिले डोकोमा लुगा बोकेर खोला र पँधेरोमा जाने गरेको उनको परिवार वाशिङ मेशिनको प्रयोगले पानी किफायत गरी सजिलै लुगा धुन पाउँदा सन्तुष्ट छ ।

बिजुली सर्वसुलभ नहुँदा र विद्युतीय उपकरण अति महँगो भएका कारण दुई दशक अघिसम्म यी वस्तु मध्यम वर्गको पहुँचमा थिएनन् । हीटर, राइस कुकर, माइक्रोवेभ ओभन, वाशिङ मेशिन आदि प्रयोग गर्ने शहरका सीमित घरानियाँ परिवार मात्र हुन्थे । मूल्य सस्तिन थालेपछि पनि बिजुली धेरै खपत गर्ने र लोडसेडिङका कारण त्यस्ता उपकरण प्रयोग गर्न हच्किने धेरै थिए ।

पछिल्ला वर्षहरूमा भने घरायसी प्रयोजनका विद्युतीय उपकरण दूरदराजसम्मका सर्वसाधारणको रोजाइमा परेका छन् । यो सम्भव भएको हो, यो उपकरणको सहज प्राप्तिसँगै बिजुलीको विस्तार र निरन्तर उपलब्धताले ।

नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता विभागका सहायक प्रबन्धक सागरमणि ज्ञवाली भन्छन्, “बिजुलीको सहज उपलब्धता र विद्युतीय सामान सस्तोमा पाइन थालेपछि यस्ता उपकरणको प्रयोग शहरदेखि गाउँसम्मै बढ्न थालेको छ ।”

दैनिक जीवन सहज पार्ने विद्युतीय उपकरणहरू अहिले उपभोक्ताको आवश्यकता नै बनिसकेका छन् । घरघरमा नयाँ साधनको प्रवेशले परम्परागत रूपमा प्रयोग हुँदै आएका साधनहरू विस्थापित हुँदैछन् ।

प्रविधि आत्मसात्

सधैं सुविधाको खोजीमा रहने उपभोक्ताले दैनिक जीवन सहज पार्ने नयाँ–नयाँ प्रविधि अपनाउँछन् । यस क्रममा असहज र अव्यावहारिक देखिएका परम्परागत तौरतरिका र सामग्रीको प्रयोग कम हुँदै गएको छ । सिलौटो, रोटी बेल्ने बेलना–चकलाको ठाउँ मिक्सर ग्राइन्डर र रोटी मेकरले लिन थालेका छन् ।

घरघरमा राइस कुकर, भ्याकुम क्लिनर, हेलोजिन हीटर, वाशिङ मेशिन आदि भित्रिएका छन् । वाटर प्यूरिफायर, गिजर, डिस वासरको प्रयोग पनि बढेको छ । अझ्, पछिल्लो समय एलपी ग्याँसको तुलनामा सुरक्षा र खर्चको दृष्टिले उपयुक्त विद्युतीय चुल्हो (इन्डक्सन) प्रतिको रुचि बढेको छ ।

विद्युतीय सामानको अनलाइन बिक्रेता हाम्रो किचनकी पविता सुवेदी हीटर, इन्डक्सन चुल्हो, विद्युतीय गिजरको माग बढेको बताउँछिन् । “पोहोरको भन्दा यस पटक बिक्री राम्रो छ”, उनी भन्छिन् ।

पाटनस्थित भाटभटेनी सुपरमार्केटको विद्युतीय सामान बिक्री केन्द्रकी सुपरभाइजर रोशनी व्यञ्जनकार पनि पानी तताउने कित्ली, मिक्सचर ग्राइन्डर, माइक्रोवेभ ओभन, राइस कुकर लगायत भान्सामा प्रयोग गरिने विद्युतीय सामानको बिक्री राम्रो रहेको बताउँछिन् । उनी भन्छिन्, “विद्युत् प्राधिकरणले उपभोक्तालाई विद्युत् खपत बढाउन आग्रह गर्नुले पनि विद्युतीय सामग्रीमा आकर्षण बढेको हुनसक्छ ।”

लोडसेडिङ अन्त्यले बढाएको विद्युतीय सामग्रीको प्रयोगमा वृद्धिसँगै सावधानी भने आवश्यक देखिन्छ । प्राधिकरणका सहायक प्रबन्धक सागरमणि ज्ञवाली घरमा विद्युतीय सामग्री प्रयोग बढाउँदा सुरक्षालाई ध्यान दिनुपर्ने सुझाउँछन् ।

उनका भनाइमा अधिकांश घरको वायरिङ कमजोर भएकाले बढी विद्युत् खपतको भार धान्न सक्दैन । यसले आगलागीको सम्भावना पनि बढी हुन्छ । “विद्युत्को खपत बढाउँदा भार धान्न सक्ने गरी मोटो तारले वायरिङ गर्नुपर्छ”, उनको सुझाव छ ।

प्राधिकरणका अहिलेका ट्रान्सफर्मरले पनि बढी भार धान्न नसक्ने भएकाले नयाँ व्यवस्था गर्न लागिएको ज्ञवाली बताउँछन् । 

प्रतिकृया दिनुहोस