सागमा २० वर्षपछि नेपालको नयाँ कीर्तिमान
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ३२ स्वर्ण जितेर नयाँ कीर्तिमान बनाएकाे छ ।
बुद्धिबहादुर तामाङले साइक्लिङमा ३२ आैं स्वर्ण जितेसँगै नेपालले आठौं सागमा बनाएकाे कीर्तिमान भंग गरेकाे हाे ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिन नै नेपालले १५ स्वर्ण जित्दै शानदार शुरुवात गरेको थियो । सागको तेस्रो दिन मंगलबार आठ स्वर्ण जित्यो । चौथो दिन बुधबार ६ स्वर्ण थप्दै २९ स्वर्ण बनाएको थियो ।
पाँचौं दिन नेपालले ३ स्वर्ण थप गर्दै २० वर्ष अगाडिको कीर्तिमान भंग गरेको छ । सन् १९९९ मा सम्पन्न आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।
त्यस पछि र अगाडि पनि नेपालले दोहोरो अंकमा स्वर्ण जित्न सकेको थिएन । आठौं साग पनि काठमाडौंमै भएको थियो । त्यसबेला नेपालले कराँते र तेक्वान्दोमा १४–१४ स्वर्ण जितेको थियो । बक्सिङबाट दुई र पौडीबाट एक स्वर्ण जितेको थियो ।