भ्रमण वर्ष सफल पार्न राजदूतहरूसँग पर्यटनमन्त्रीको आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ सफल पार्न आवश्यक सहयोगका लागि नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखसँग आग्रह गरेका छन् ।
मन्त्री भट्टराईले राजदूत र वैदशिक साझेदार संस्थाका प्रमुखलाई बुधबार पर्यटन मन्त्रालयमै आमन्त्रण गरेर सो आग्रह गरेका हुन् ।
भट्टराईले भने, “यो कार्यक्रम बाहिर होटल अथवा कुनै स्थानमा गर्न सकिन्थ्यो तर मन्त्रालयमै गर्दा सरकार–सरकारबीचको सम्बन्धलाई जोड्ने विश्वासका साथ मन्त्रालयमै गरिएको हो ।” अब सरकारको विदेश सम्बन्धमा पर्यटन कूटनीति पनि महत्वपूर्ण पाटो रहने उनको भनाइ छ ।
भ्रमण वर्ष–२०२० सफल पार्नमा नेपालस्थित राजदूतहरूको भूमिका महत्वपूर्ण हुने भन्दै भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरि सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे ।
“नेपाल भ्रमण वर्ष–२०२० को विषयमा यहाँहरूका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरूको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु । मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष–२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईंको देशका नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस् ।”
मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरूलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिका लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिदैं पर्यटन मन्त्रीहरूको उपस्थितिका लागि पहलकदमी गरिदिन अनुरोध समेत गरे ।
मन्त्री भट्टराईले नेपाल २०७२ को महाभूकम्पको पीडाबाट बिस्तारै उठिरहेको उल्लेख गर्दै भने, “महाभूकम्पको पीडाबाट नेपाललाई उठाउन गर्नुभएको सहयोगप्रति फेरि एकपटक आभार प्रकट गर्दछौं । अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँहरूको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौं ।”
मन्त्री भट्टराईले महाभूकम्पबाट भत्किएका नेपालका ८९१ सम्पदामध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिए । बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको आह्वान गरे ।
मन्त्री भट्टराईले अब आर्थिक र सामाजिक क्षेत्रको असमानतालाई अन्त्य गर्दै राष्ट्रिय पूँजीको विकास गरेर समतामूलक समाज निर्माणको बाटोमा देशलाई अघि बढाइने बताए ।
भट्टराईले भने, “आर्थिक तथा सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पूँजीको विकास गरेर समतामूलक समाज निर्माण गर्नेछौं” उनले भने, “यही बाटोबाट हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको ‘सुखी नेपाली: समृद्ध नेपाल’को सपना पूरा गर्नेछौं।”
मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिदैं १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताए ।
मन्त्री भट्टराईले अहिले विदेशी पर्यटकले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको उल्लेख गर्दै अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको जानकारी दिए ।
मन्त्री भट्टराईले सन् २०२० मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए । त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रारम्भिक काम सकिएको भन्दै लगानीको आवश्यक मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको बताए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरूलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिदैं भने, “तपाईंहरू मार्फत म यो जानकारी तपाईंहरूको देशका वायु सेवा कम्पनीलाई गराउन चाहन्छु ।”
मन्त्री भट्टराईले नेपालको हवाई सुरक्षाको विषयमा युरोपियन युनियन लगायतले राखेको चासोप्रति सरकार गम्भीर रहेको भन्दै अन्तर्राष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सक्रिय रहेको बताए ।
उनले नेपालका निजी तथा सरकारी वायु सेवा कम्पनीहरूले चाँडै विश्वभरिका आकाशमा निर्बाध उडान भर्ने विश्वास व्यक्त गरे । मन्त्री भट्टराईले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको जानकारी दिदैं आगामी १० वर्ष भित्रमा सबै आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाइने बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजदूतहरूलाई स्वागत गर्दैै विश्वभरि भ्रमण वर्ष–२०२० को प्रवर्द्धनका लागि अनुरोध गरे । नेपाल भ्रमण वर्ष–२०२० का संयोजक सुरज वैद्यले नेपालका पर्यकीय स्थलहरूको जानकारी, पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीको बारेमा जानकारी दिए ।
सहयोगका लागि तयार छौंः राजदूतहरू
कार्यक्रममा सहभागी राजदूतहरूले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटकहरूमा चीन दोस्रो रहेको बताउँदै नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाइन् ।
यान्छीले भनिन्, “नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउनका लागि हाम्रो साथ र सहयोग रहनेछ ।” उनले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू चिनियाँ कम्पनीहरूले निर्माण गरिरहेको बताउँदै चिनियाँ कम्पनीहरूले गुणस्तरीय कामका साथै समयमै निर्माण सम्पन्न गर्ने बताइन् ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामग्री उपलब्ध गराए ती सामग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, अष्ट्रेलियाका राजदूत पिटर ग्रेम बड, जर्मनीका राजदूत रोलान्ड साफर, जापानका राजदूत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी लगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए ।