समाचार बुधबार, मंसिर १८, २०७६

तल्ला कमिटीलाई पराजयको कारण पठाउन नेकपाको निर्देशन

हिमालखबर

तल्ला कमिटीलाई पराजयको कारण पठाउन नेकपाको निर्देशन

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपनिर्वाचनमा भएको पराजयको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई निर्देशन दिएको छ ।

अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचनको नतिजाको समीक्षा पठाउन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ४ मंसीरमा दाहाललाई कार्यकारी अध्यक्षको अधिकार दिए पछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।

“दाङको घोराही–१६ मा हाम्रैमा बागी उम्मेदरका कारण हारिएको भन्ने छ । अरु ठाउँमा पनि अन्तरघात भएको कुरा आएको छ”, श्रेष्ठले भने । सवै क्षेत्रको समीक्षा प्रतिवेदन पठाउन सर्कुलर पठाउने निर्णय सचिवालयले गरेको उनले बताए ।

अर्को सचिवालय बैठक २३ मंसीरमा बस्ने प्रवक्ता श्रेष्ठले बताए । त्यसअगाडि नै समीक्षा प्रतिवेदन पठाउन नेकपाले तल्ला कमिटीलाई निर्देशन दिएको छ । त्यस दिन बस्ने सचिवालयले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बाेलाउनुबारे निर्णय लिने भएकाे छ ।

नेकपाले उपनिर्वाचनमार्फत धरान र भक्तपुर गुमाउनुका साथै ठूला नेताका निर्वाचन क्षेत्रकै वडाध्यक्ष समेत गुमाएको छ ।

प्रतिकृया दिनुहोस