प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण दाहालको चीन भ्रमण स्थगित
१७ मंसीरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि शिक्षण अस्पतालको आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिउँसो भिडियो मार्फत् सार्वजनिक भएका छन् ।
आफ्नो स्वास्थ्य अवस्थाबारे दुई मिनेट ६ सेकेण्ड लामो भिडियो सन्देश दिदै स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले हिड्न, कुराकानी गर्न र समाचार सुन्न सक्ने जानकारी आफैंले भिडियोमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आइतबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समेत भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग भेटे पछि दाहालले २४ मंसीरका लागि निर्धारित चीन भ्रमण स्थगित गरेका छन् । ६० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा निस्कने पूर्व निर्धारित योजना स्थगित गरेका हुन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाकै कारण भ्रमण स्थगित गरिएको नेकपा स्रोतले जनाएको छ । अध्यक्ष दाहालले चिनियाँ राजदूतसँग भ्रमण रद्द गर्ने जानकारी गराएका छन् ।
अध्यक्ष दाहालले अन्य नेताहरुलाई समेत भ्रमण स्थगित गर्न निर्देशन दिएका छन् ।
नियमित डायलासिसमा रहेका प्रधानमन्त्री ओलीको मिर्गौला अमेरिकामा पुनःप्रत्यारोपणका तयारी भइरहेको छ । अझै केही समय आईसीयूमा रहनुपर्ने चिकित्सकको सुझाव अनुसार, प्रधानमन्त्री ओली शिक्षण अस्पतालमै छन् ।