थप समाचार आइतबार, मंसिर १५, २०७६

सुदूरपश्चिम प्रदेशमा नेकपा पाँच र कांग्रेस दुई वडामा विजयी

हिमालखबर

सुदूरपश्चिम प्रदेशमा नेकपा पाँच र कांग्रेस दुई वडामा विजयी

सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा ६६८ ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउदले कूल ६५६ मत प्राप्त गरे ।

एक हजार ५९० मत खसेकोमा ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको १५ जेठ २०७५ मा जीप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका कृष्णबहादुर तामाङ ५२८ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर तामाङले ३१० मत प्राप्त गरे ।

उक्त मतदानमा कूल ९२४ मत खसेको थियो । स्थानीय तहको निर्वाचनमा वडा नं.३ बाट अध्यक्षमा निर्वा्चित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

अछामको मेल्लेख गाउँपालिका–५ को विन्ध्यवासिनीको उपनिर्वाचमा नेकपाका रमेश खड्का ७७८ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर बोहराले ५६३ मत ल्याए ।

गत निर्वाचनमा कांग्रेस विजयी भएको थियो । कूल एक हजार ९०० मतदाता रहेको विन्ध्यवासिनीमा एक हजार ३५७ मत खसेको थियो । सोह्र मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । गएको स्थानीय चुनावमा वडाध्यक्षमा निर्वा्चित रामबहादुर बोहराको निधन भएपछि उपनिर्वाचन भएको हो ।

बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका मनराज बुढा विजयी भए । कांग्रेसबाट उम्मेदवार बन्नुभएका खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै उनी विजयी भएका हुन् ।

विजयी बुढाले ३६७ मत प्राप्त गरे । तत्कालीन वडाध्यक्ष खम्म नेपालीको १३ असार २०७५ मा जीप दुर्घटना परी निधन भएपछि अहिले उपनिर्वाचन भएको हो ।

बैतडी जिल्लामा पनि शनिबार राति नै मतगणना सम्पन्न भएको छ । उपनिर्वाचन सम्पन्न बैतडीका तीन वडा मध्ये दुई वडामा कांग्रेस र एक वडामा नेकपा विजयी भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–४ मा कांंग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी हुनुभएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

पुर्चौडी नगरपालिका–४ मा नेकपाका धानुक १०५ मत बढी लिएर विजयी भए । जम्मा खसेको एक हजार ३३० मत मध्ये विजयी धानुकले ६६३ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गरे ।

सुर्नया गाउँपालिका–१ मा भएको मतदानमा खसेको जम्मा ४३८ मतमध्ये २१९ मत प्राप्त गर्दै कांग्रेसका चन्द विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गरे । चार मत बदर भएको छ ।

दोगडाकेदार–४ र पुर्चौडी–४ मा यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया गाउँपालिका–१ मा कांग्रेसमा उम्मेदवार विजयी भएका थिए ।

प्रतिकृया दिनुहोस