समाचार आइतबार, मंसिर १५, २०७६

गढीमाईकाे विशेष पूजा आज रातिदेखि शुरु, तीन जिल्लाका डेढ दर्जन स्थानमा पनि मेला लाग्दै

हिमालखबर

गढीमाईकाे विशेष पूजा आज रातिदेखि शुरु, तीन जिल्लाका डेढ दर्जन स्थानमा पनि मेला लाग्दै

विश्वप्रसिद्ध गढीमाई मेला आजदेखि विधिवत् रूपमा शुरु हुँदैछ । हरेक पाँच वर्षमा मंसीर महीनाको शुक्ल पञ्चमी तिथिदेखि सप्तमी तिथिसम्म मूल पूजा गरिन्छ ।

यस वर्ष मंसीर १५ देखि १७ सम्म पञ्चवर्षीय विशेष पूजा हुँदैछ । गढीमाईको विशेष पूजा आज आइतबार राति हुँदैछ ।

विश्वप्रसिद्ध गढीमाई मेला भर्न बाराको वरियारपुरमा लाखौँ मान्छे आइपुगेका छन् । भारतको कुना कुनाबाट श्रद्धालुहरू ओइरिएका छन् र अझै पनि आउने क्रम जारी छ ।

सबैभन्दा ठूलो गढीमाई मेला बाराको महागढीमाई नगरपालिकाको वरियारपुरमा रहेको मन्दिरमा नै लाग्ने गरेको भए पनि गढीमाई पूजाको सम्पूर्ण विधि र प्रक्रिया उस्तै हुने गरी मध्य तराईका तीन जिल्लामा करीब डेढ दर्जन स्थानमा यो मेला लाग्ने गर्दछ ।

बाराको महागढीमाई नपाको वरियारपुर र मधुरीगढी, जितपुर सिमरा उपमहानगरपालिकाको जितपुर, कलैया उपमहानगरपालिकाको सिंहासनी र पचानपुर, कोल्भी नपाको बेल्वा, बारागढी नपाको दौर्वाविशुनपुर्वामा गढीमाई मेला लाग्दैछ ।

रौतहटको गढीमाई नगरपालिकाको सुन्दरपुर, हर्दिया र बलुवामदनपुर, गरुडा नगरपालिकाको गेडहीगुठी र गम्हरिया, कटहरिया नगरपालिकाको दुधियाभार, गुजरा नगरपालिकाको कनकपुर, वृन्दावन नगरपालिकाको आँकडपाथर र माधवनारायण नगरपालिकाको माधोपुरमा पनि आजैबाट विशेष पूजा तथा मेला शुरु हुँदैछ ।

यसैगरी सर्लाहीको रामनगर गाउँपालिकाको छोटौल र खैर्वा, बलरा नगरपालिकाको मिर्जापुर, कविलासी नगरपालिकाको जमुनियामा पनि गढीमाई मेला लाग्दैछ ।

भारतसित सिमाना जोडिएका तीन जिल्लाका डेढ दर्जनभन्दा बढी ठाउँमा मेला लाग्ने गरिएको भए पनि भारतमा भने गढीमाई मन्दिर रहेको सुनिएको छैन । भारतबाट बलिको लागि आउने पशुमा विभिन्न नाकामा रोक लगाइएको भए पनि भारतबाट पनि पर्याप्त पशु भित्रिएका छन् ।

गढीमाई मेलाका कारण आज आइतबारदेखि रौतहट र बाराका अधिकांश स्थानीय तहले चार दिन सार्वजनिक बिदा दिएका छन् ।

१५ मंसीरमा विवाह पञ्चमी र १७ मा गढीमाईको विशेष पूजा परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ भने १६ र १८ मंसीरमा अधिकांश स्थानीय तहले सार्वजनिक बिदा दिएको छ । कतिपय स्थानीय तहले भने यो साताभरि नै बिदा दिएका छन् ।

रौतहट र बाराका अधिकांश सर्वसाधारणको सम्पूर्ण दैनिकी गढीमाई मेलाले गर्दा प्रभावित भएकाले संस्कृतिमा यस पूजाको प्रभाव व्यापक विस्तार भएको देखिएको छ ।

 

प्रतिकृया दिनुहोस