ब्लग आइतबार, मंसिर १५, २०७६

कमारा–कमारी र अमलेखको कथा

भैरव रिसाल

कमारा–कमारी र अमलेखको कथा
स्केच:भानु भट्टराई  

बच्चा अर्थात् ‘नयाँ कमारो’ जन्माउने भएकाले हाटबजारमा कमारोको भन्दा कमारीको बढी मोल पर्थ्याे। यसै कारण पूँजीपतिहरू कमारीमाथि बढी मूल्य तिर्न तयार हुन्थे।

भैरव रिसाल

नेपालमा करिया (कमारा–कमारी) प्रथा अन्त्यको घोषणा हुँदा १९८१ सालमा देशको जनसंख्या ५५ लाख ५७ हजार ७८८ थियो ।

त्यसमध्ये करियाहरू भने ५१ हजार ४१९ रहेछन् । त्यस वेलासम्म दासका रूपमा घरेलु कामदारको हाटबजारमै खुला किनबेच हुन्थ्यो । त्यस्तो किनबेचमा कमारो भन्दा कमारीको मूल्य बढी हुन्थ्यो । किनभने कमारीले पाएको शिशु मालिककै सम्पत्ति हुन्थ्यो, जुन उसले पछि बिक्री गर्न पाउँथ्यो । कमारीको बच्चा नजन्मिए उसको लोग्ने फेरिइराखिन्थ्यो ।

सुनको फूल पार्ने कुखुरी ठानेर पूँजीपतिहरू कमारीमाथि बढी मूल्य तिर्न कस्सिन्थे । अझ, एउटी राम्री तरुनी कमारीको भाउ रु.३९० सम्म पुग्थ्यो । उमेर र लिङ्ग हेरेर सामान्यतया रु.१०० देखि माथिको मोलमा कमाराहरूको किनबेच हुन्थ्यो ।

कमारा–कमारीले मालिकको घरमा असीमित काम गर्नुपर्थ्याे। दिनभर खेतबारीमा खटिएर राति घरका सबै काम सकेपछि मालिक–मालिक्नीलाई तेल घस्नेसम्मका काम गर्नुपर्ने । राति कोठामा तेल घस्ने क्रममा मालिक र कमारीको सम्पर्कबाट छोराछोरी जन्मे पनि मालिकले आफ्नो भनेर सकार्दैनथे, अन्ततः ती सन्तान पनि बेचिन्थे ।

करिया धेरै हुनेको समाजमा शान

नेपालमा दास प्रथा कहिलेदेखि शुरू भयो, त्यो त थाहा भएन । पुरानो जमानामा राजाहरूबीच लडाइँ हुँदा विजेताले हार्ने पक्षका रैतीहरूलाई करिया बनाउँथे । भारतमा हिन्दू र मुसलमानबीच युद्ध भइरहँदा त्यहाँ धेरै करिया भए । तीमध्ये धेरै नेपाल पसे । त्यसअघि नेपालमा धेरै करिया थिएनन् ।

भारतबाट एकै पटक २० हजारदेखि ३० हजार दास नेपाल पसेको भन्ने भनाइ पनि छ । श्री ३ जङ्गबहादुर राणाको पालामा १९२४ सालतिर उत्तर भारतमा ठूलो भोकमरी लागेछ । उनले तराईका बासिन्दालाई भोकमरीबाट बचाउन जिल्लैपिच्छे साढे २ लाख रुपैयाँका दरले रकम पठाए । त्यसपछि थुप्रै भारतीय नेपाल पसेका कारण यहाँ ३० हजार करिया बढेछन् ।

ब्रिटिश भारतकालीन इष्ट इण्डिया कम्पनी सरकारले आफ्नो देशका करिया नेपालमा निकासी गरेर राजस्व संकलन गथ्र्यो । भारतमा रु.४\५ मा किनिएका तिनीहरूलाई यता रु.३०\४० मा बेचिने रहेछ । सन् १८६६ तिर १८ महीनासम्म करियाहरूको ओइरो लागेको लेखक एवं इतिहासकार डेनियल राइटले लेखेका छन् रे !

अन्ततः जङ्गबहादुरलाई यो दासत्वले नेपाललाई पोल्छ भन्ने लागेछ । उनले करियाहरूको संख्या घटाउने उद्देश्यले चारबुँदे निर्णय गरेछन् ।

जस अन्तर्गत, नेपाल सिमानाका कर्मचारीलाई करिया खरीद–बिक्री हुन नदिन निर्देशन दिएका उनले पछिल्लो समय किनिएका भारतीय करियाहरूलाई तुरुन्तै मुक्त गर्न, आफ्ना केटाकेटी बिक्री नगर्न तथा मोरङ र नयाँ मुलुकमा भागेर गएका करियालाई फेरि नफर्काउन उर्दी दिएका थिए ।

नेपालमा दास प्रथा कहिलेदेखि शुरू भयो, त्यो त थाहा भएन । पुरानो जमानामा राजाहरूबीच लडाइँ हुँदा विजेताले हार्ने पक्षका रैतीहरूलाई करिया बनाउँथे । भारतमा हिन्दू र मुसलमानबीच युद्ध भइरहँदा त्यहाँ धेरै करिया भए । तीमध्ये धेरै नेपाल पसे । त्यसअघि नेपालमा धेरै करिया थिएनन् ।

त्यतिवेलाको नेपाली समाजमा सीमित धनी वर्गको इज्जतको एउटा मापदण्ड थियो, उसको घरमा कमारा–कमारी कति छन् । कतिसम्म भने, धनवानले छोरीको विवाहमा अरू कुरासँगै कमारा–कमारी पनि दाइजोका रूपमा दिन्थे ।

सजिलै अमलेख

दास प्रथा उखेल्न कति मुलुकहरूमा लामो समयसम्म दङ्गा फसाद र मारामारी भएका थिए । नेपालमा भने करिया अमलेख (दासत्व मोचन) सहजै भयो ।

श्री ३ चन्द्रशमशेर अगाडि देवशमशेर र जङ्गबहादुरले पनि यो प्रथा हटाउन चाहेका थिए रे ! तर सकेनछन् । करियालाई मालिकहरूले राजीखुशीले निःशुल्क रूपमा मुक्त गरून् भन्ने मनसाय चन्द्रशमशेरले राखेका थिए । तर, ५१ हजार ४१९ कमारा–कमारीमध्ये जम्मा ४ हजार ६५० लाई मात्र स्वेच्छाले मुक्त गरिएछन् ।

११० जना करिया मालिकको थैली बुझाएर मुक्त भएछन् । निःशुल्क मुक्त गर्न नचाहने मालिकहरूलाई क्षतिपूर्ति दिन श्री ३ चन्द्रले पशुपतिनाथको भण्डारबाट रु.१४ लाख झिकेर बाँडेछन् ।

१४ मंसीर १९८१ मा सदर टुँडिखेलमा रहेको खरीको बोटबाट उनले करिया अमलेखको घोषणा गरे । उनको नेपाली भाषाको ५७ पृष्ठको भाषण गुरुज्यू हेमराज पाण्डेले पढेका थिए भने अंग्रेजीको भाषण बडाकाजी मरिचमान सिंहले । यसको कार्यान्वयन भने चन्द्रशमशेरले घोषणाको १४ महीनापछि १ वैशाख १९८३ बाट गरे ।

१९८१ सालतिर श्रमको मूल्य हुने कुरै भएन । गाउँघरमा दैनिक ज्याला जनही एक\दुई आना वा एक–दुई माना चामल थियो । कमारा–कमारीको मोल रु.१०० देखि रु.३९० सम्म तोकिए पनि करिया अमलेखका वेला औसत रु.१२० तोकेर मालिकलाई क्षतिपूर्ति दिइएको थियो ।

मालिकले १६ वर्षसम्म करिया पाल्दा लाग्ने खर्च रु.४१० निस्कियो । चन्द्रशमशेरले मालिकले पाएको रु.१२० त्यो अवधिभित्र दश प्रतिशत ब्याजमा लगाउँदा रु.११०० आम्दानी हुने हिसाब निकालेर चित्त बुझाएछन् । 

प्रतिकृया दिनुहोस