सागमा नेपालको झण्डा कमल अधिकारीले बोक्ने
दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनमा नेपालको राष्ट्रिय झण्डा भारोत्तोलन खेलाडी कमल अधिकारीले बोक्ने भएका छन् ।
नेपाल ओलम्पिक कमिटीले प्रेस बक्तव्य जारी गर्दै अधिकारीले राष्ट्रिय झण्डा बोक्ने जानकारी दिएको छ ।
आइतबार उद्घाटन हुने सागमा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले राष्ट्रिय झण्डा बोक्ने चर्चा चलेको थियो । तर, उनको नाम सिफारिस भए पनि अनुभव, अन्तर्राष्ट्रिय पदक र ओलम्पिक खेलमा समेत सहभागिता जनाएकाले अधिकारीलाई झण्डा बोक्न दिने नेपाल ओलम्पिकले निर्णय गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदले सागको उद्घाटनमा १५ हजार बढीलाई प्रत्यक्ष सहभागी गराउने तयारी गरेको छ । सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछन् ।