भारतीय पक्षले एकतर्फी कुलो बनाएपछि नेपाली पक्षबाट विरोध
पश्चिमी पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोलामा भारतीय पक्षले जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेपछि स्थानीयले विरोध जनाएका छन् ।
ठोरीमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर लामाले भारतीय पक्षले पानी मुहान थुनेर दुईवटा कुलो बनाई भारततर्फ पानी लैजाने गरेको बताए ।
ठुटे खोलाको पूर्वतर्फको भिरसँगै रहेको तीनवटा कुलोमध्ये दुईवटा ठूला कुलाबाट भारतीय पक्षले एकतर्फी रुपमा पानी लगेको छ भने एउटा सानो कुलो नेपाली पक्षलाई प्रयोग गर्न दिएको बताउँदै स्थानीय प्रेमबहादुर विक भन्छन्, “सोको विरोध गर्दा भारतीयहरुले कुटपिट गर्ने, दबाब दिने भएकाले यसतर्फ नेपाल सरकारले समयमै ध्यान दिनुपर्दछ ।”
चितवनको चुरे डाँडामा रहेको पानीको मुहानबाट सो पानी ठुटे खोलामा आउने गरेको र सो खोला हुँदै पानी भारतर्फ जाने गरेको छ ।
अहिले सो खोलामा पानी त्यति मात्रामा नभए पनि कुलो बनाएर भारतर्फ लैजाने गरिएको छ ।
नेपाली पक्षले सो कुलो प्रयोग गर्न खोज्दा भारतीय सुरक्षा बल (एसएसबी), भारतीय किसान र भारत सहोदराका मुखिया आएर कुलोको रेखदेख गर्ने, मर्मतसम्भार गर्ने गरेको स्थानीय ईश्वरी भुजेलले बताए ।