संविधान संशोधनका धेरै विषयमा सहमति भइसक्योः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले संविधान संशोधनसँगै समयमै चैतभित्र स्थानीय तहको निर्वाचन हुने बताए ।
“चैतभित्रै स्थानीय तहको निर्वाचन हुन्छ,” देउवाले भने, “अङ्गीकृतलाई कार्यकारी पद दिने कुरा मिडियाले हल्ला मात्रै गरेका हुन् ।” सङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने बताउँदै उनले कैलाली–कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश नै रहने बताए ।
उनले महाधिवेशनपछि बाँकी रहेको पार्टी पदाधिकारी चयन र विभागले चाँडै पूर्णता पाउने भन्दै सबैलाई मिलाएर लैजानुलाई भागबन्डा भन्न नमिल्ने धारणा राखे ।
सुदूरपश्चिमको पुल, सडक, उत्तरी नाका खोल्ने, विद्युत् आयोजनालगायतका विकास निर्माणलाई अगाडि बढाउने विषयमा आफूले पहल गरिरहेको उनको भनाइ थियो ।
“महाकालीमा चार लेनको पक्की पुल र दोधाराचाँदनीमा सुख्खाबन्दरगाह बनाउन पहल हुँदैछ” – देउवाले भने ।
रासस