लोडशेडिङले पुन: घाटामा उदयपुर सिमेन्ट
लोडशेडिङ अन्त्यसँगै राम्रो नाफामा जान थालेको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पुन: घाटामा जान थालेको छ।
पुसको अन्तिम हप्तादेखि माघको दोस्रो हप्तासम्ममा दैनिक पाँच पटकसम्म लोडशेडिङ हुन थालेपछि सिमेन्ट उद्योगले रु तीन करोडभन्दा बढी घाटा व्यहोर्नुपरेको सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साह बताए ।
एक महीनाअघिसम्म दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको उद्योगले अहिले लोडशेडिङका हुन थालेपछि बढीमा दैनिक ६५० मेट्रिक टनसम्म मात्र उत्पादन हुने भएका कारण उद्योग घाटामा जान थालेको निमित्त महाप्रबन्धक साहले बताए।
सिरहा लहान गाईघाटको विद्युत् लाइनको उद्योग क्षेत्रमा दैनिक लोडशेडिङ हुन थालेको र सम्बन्धित निकायलाई पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि समाधान नभएपछि उद्योगमा सिमेन्ट उत्पादनमा कमी आई पुनः घाटामा जान थालेको उद्योग प्रशासनले बताएको छ ।
दिनमा पाँच पटकसम्म लोडशेडिङका हुँदा सात लाखदेखि १० लाखभन्दा बढी घाटा हुने गरेको पनि उद्योग प्रशासनले बताएको छ । स्थापनाकालदेखि घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले डेढ वर्ष पहिले लोडशेडिङ हटेपछि भने रु ५० करोडभन्दा बढी नाफा गरिसकेको छ। – रासस