साताभर स्थिर नेप्से
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताभर नै स्थिर देखिएको छ। सातामा जम्मा ४ अंकको साँघुरो उतारचढावमा शेयर बजार रुमल्लिएको छ।
त्यसका कारण लगानीकर्ताहरू अलमलमा परेको देखिन्छ। ‘पर्ख र हेर’को रणनीतिमा लगानीकर्ता रोकिएकाले बजारमा माग र आपूर्ति सन्तुलन भएको देखिएको हो। यसले बजारलाई अहिलेको स्थितिबाट ओरालो लाग्न रोकिरहेजस्तो देखिएको छ। यो प्रवृत्ती लम्बिएमा नेप्से केही समयपछि उकालो लाग्नसक्ने सम्भावना देखिन्छ।
साताको अन्तिम दिन १७ माघ (बिहीवार) नेप्से १.०४ अंक बढेर ११६१.६३ अंकमा पुगेको छ। व्यापार, जलविद्युत्, फाइनान्स र जीवन तथा निर्जीवन बीमा समूहका सूचकांक ओरालो लागे पनि ब्यांक समूहको सूचक उकालो लाग्दा समग्र नेप्सेमा सुधार देखिएको हो।
बिहीवारको कारोबारमा रु. २७ करोड ३३ लाख ८७ हजारको शेयर कारोबार भएको छ। अघिल्लो दिन बुधवार रु. ३० करोड ८० लाखको शेयर किनबेच भएको थियो। बिहीवार १६८ कम्पनीका ९ लाख ७ हजार कित्ता शेयर किनबेच भयो। यस दिन नेप्सेको बजार पूँजीकरण रु. १४ खर्ब १७ अर्ब २१ करोड पुगेको छ भने सर्वसाधारण शेयरधनीको स्वामित्वमा रहेको शेयरको कुल बजार मूल्य अर्थात् फ्लोट बजार पूँजीकरण रु. ४ खर्ब ९४ अर्ब ८७ करोड पुगेको छ।
बिहीवारको कारोबारमा नागरिक लगानी कोषको शेयर सर्वाधिक रु. ३ करोड ९६ लाख ३८ करोडको शेयर खरीद-बिक्री भयो। यस दिन चौतारी लघुवित्त विकास ब्यांकको शेयर सर्वाधिक ८.४ प्रतिशत महँगियो भने सीटी एक्सप्रेस फाइनान्सको शेयर मूल्य ९.७६ प्रतिशत सस्तिएको छ।