अर्थमन्त्रीको किसानलाई सुझाव- समूह खेतीमा लागौं
अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि उत्पादनमा जोखिम घटाउन समूह उत्पादनमा लाग्नुपर्ने बताएका छन्।
१७ माघमा नेपाल कृषि सहकारी केन्द्रीय संघको ११ औं साधारण सभालाई सम्बोधन गर्दै उनले समूह उत्पादनले कृषि उत्पादनको लागत घटाउन, कृषकलाई प्रतिस्पर्धी बन्न र समय बचाउन सकिने पनि बताए। खतिवडाले सहकारीहरूले बजारको जोखिम घटाएर पनि कृषकलाई मद्दत गर्नसक्ने बताए।
पूर्वमन्त्री तथा प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सहकारीको मोडलबाट मुलुकको कृषि उद्यमलाई सरकारले सघाउनुपर्नेमा जोड दिए।
साधारण सभामा देशभरिका ७१ जिल्लाका ६६५ कृषक सहभागी छन्। २०६४ सालमा स्थापित सो सहकारी संघको पूँजी तथा दायित्व रु. १४ करोड ८७ लाख ३० हजार १४० छ।
“जीवनभरि खेती नै गर्छौं”
उद्घोषकले नाम उच्चारण गर्दा मकवानपुर राक्सीराङ ६ का दीपेन चेपाङ (२९) खुशीले गदगद हुँदै मञ्चमा चढे। अर्थमन्त्री खतिवडाले ‘गज्जब गर्नुभएको रहेछ’ भन्दा उनी मुस्कुराइरहेका थिए। ८ कक्षा पढेका दीपेनले मौरी र कुखुरा पालेर वार्षिक रु. १२ लाख कमाइरहेको उद्घोषकले बताएपछि हलमा उपस्थित दर्शकले ताली बजाए।
दीपेनपछि रु. ५ हजार ८८२ सहित सम्मान थाप्ने पालो थियो, सुर्खेत वीरेन्द्रनगर ९ लाटीकोइलीका छविलाल खडकाको। विज्ञानमा स्नातक २८ वर्षे युवकलाई परिचय गराउँदा उनले २३ वटा गाई, ७५ वटा बाख्रा, १० वटा बंगुर पालेको र ५ जनालाई रोजगारी पनि दिइरहेको बताइयो। सम्मान ग्रहणपछि छविलालले भने, “बाँचुन्जेल यसरी नै गाईबाख्रा पाल्दै खेती गर्छु।” ५ वर्षयता उनी सबै खर्च कटाएर वार्षिक रु. ३ लाखभन्दा बढी बचत गर्छन्।
सम्मानितमध्ये अर्की थिइन्, धनुषकी भूमिहीन किसान पवितादेवी मुसहर। बगरमा तरवुजा र तरकारी खेती गरेर वार्षिक रु. ३ लाखभन्दा बढी आम्दानी गरिरहेकी उनले भनिन्, “बालुवामा बेर्ना स्याहार्न चर्को छ तर उपलव्धी पनि राम्रै छ।”
कार्यक्रममा साना किसानहरू सिरहाका दिनेश शाह, डडेल्धुराका मदनसिंह राष्ट, बाराकी सवरा खातुन र मोरङका सरोज नेपाल पनि पुरस्कृत भएका थिए। यस्तै, साना किसान सहकारी संस्थाका व्यवस्थापकहरू झापाका चिरञ्जीवी भण्डारी, धनुषाका दीपनारायण पूर्वे र सुर्खेतकी दीपा राना पनि रु. ५ हजार ८८२ सहित सम्मानित भए।