भारु नोट बन्दीले सीमाक्षेत्रको व्यवसाय प्रभावित
भारतमा भारु पाँचसय र एक हजारको नोटमा प्रतिबन्ध लागेपछि नेपालका सीमावर्ती शहर–बजारमा त्यसको प्रभाव परेको छ ।
नेपाल र भारतका सीमावर्ती बजारमा दुबै देशका नोट चल्ने भएकोले दोहोरो व्यापार हुँदै आएकोमा पछिल्लो समयमा भारी मात्रामा गिरावट आएको व्यापारीहरुले बताएका छन् ।
भारु एक हजार र पाँच सयका नोट नचल्ने भएपछि नेपाली बजारमा आउने भारतीय ग्राहकको संख्याको ह्वात्तै घटेको छ ।
घरमा नगद राख्ने अधिकांशले ५०० र १००० का नोट राखेको र अहिले ती नोट नचल्ने भएपछि भारतीय ग्राहकले गुलजार हुने सीमाक्षेत्रका होटेल लजहरु समेत फुर्सदमा छन् ।
साँझपख भारतीय ग्राहकले भरिने वीरगञ्जको माईस्थान, आदर्शनगर क्षेत्र र यहाँका होटल तथा रेष्टुरेन्टहरुमा अचेल भारतीय ग्राहकको संख्या निकै कम भएको व्यापारी समीर अग्रवालले बताए ।
यता सीमावर्ती भारतीय बजारमा सामान किन्न जाने र अन्य शहरहरुमा काम विशेषले जाने नेपालीहरुसँग सटही काउन्टरले बढी पैसा लिने र नेपाली नोट दिएर सामान किन्दा पनि १० प्रतिशत बढी रकम तिर्नु परिरहेको छ । व्यवसायीहरु आफ्नो ब्यापारमा ५० प्रतिशतले गिरावट आएको बताउँछन् ।
त्यस्तै बिहारमा मदिरा सेवन र विक्री वितरणमा प्रतिवन्ध लागेपछि गुल्जार बनेका सीमाक्षेत्रका होटल व्यवसायमा नोट प्रतिबन्धको प्रत्यक्ष असर देखिएको छ ।
वीरगञ्जको होटल कुमु प्यालेसका व्यवस्थापक कुबेर कार्कीले भारतीय ग्राहकहरु ह्वात्तै घटेकोे बताए ।
“हामीले भारु ५ सय र हजारको नोट लिन छोडिसकेका छौं, सानो दरको नोटको बजारमा अभाव छ, त्यसैले भारतीय ग्राहकहरू आउन सकेका छैनन,” उनले भने ।
त्यस्तै भारु सटही गर्ने केन्द्रहरुमा पनि कारोबार ठप्प छ ।सर्वसाधरणहरु जरुरी रहेको भन्दै नोट साट्न आएपनि आफूहरुले लिन नसकेको उनीहरु बताउँछन् ।
गढीमाई मनी चेञ्जर वीरगञ्जका सञ्चालक हरेन्द्र प्रसाद गुप्ताले राष्ट्र बैंकले पनि भारु नदिएको, बजारबाट पनि उठाउन नसकेकोले ग्राहकलाई त्यसै फिर्ता पठाउन परेको गुनासो गरे ।
सुरेश बिडारी, वीरगञ्ज