सातामा १८ अर्ब घट्यो शेयर बजारको आकार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को बजार पूँजीकरण अर्थात् नेपाली शेयर बजारको मूल्य पछिल्लो एक सातामा रु. १७ अर्ब ८२ करोड २४ लाख घटेको छ।
शेयर बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्य सस्तिँदा बजार पूँजीकरण घटेको हो। अघिल्लो साताको बिहीवार रु. १४ खर्ब ४८ अर्ब ६३ करोड ५ लाख रहेको बजार पूँजीकरण १० माघमा रु. १४ खर्ब ३० अर्ब ८० करोड ८१ लाखमा झरेको हो।
साप्ताहिक कारोबारमा नेप्से परिसूचक पनि अघिल्लो साताको तुलनामा १६.६२ अंक घटेको छ। त्यसअघिको सातामा भने नेप्से १४.७ अंक बढेको थियो। यो साता नेप्से ११६८ देखि ११७८ अंकबीच १० अंकको साँघुरो उतारचढावमा रह्यो। मूलतः बजार ओरालो लागिरहेकाले उतारचढाव कम देखिएको हो।
कारोबार रकमको आधारमा पनि यो साता उत्साहजनक रहन सकेन। गत साता रु. १ अर्ब ८५ करोड २० लाखको शेयर कारोबार भएकामा यो साता रु. १ अर्ब ६२ करोड ५७ लाखको मात्रै शेयर खरीद-बिक्री भयो। यो १२.२२ प्रतिशतको कमी हो।
होटेल, उत्पादन तथा प्रशोधन र जलविद्युत् समूहको परिसूचक यो साता उकालो लागे पनि ब्यांक र बीमाजस्ता वित्तीय क्षेत्रका कम्पनीहरूको शेयर सस्तिएकाले समग्र नेप्से खस्किएको हो।