तीन दलबीच संविधान संशोधनबारे सकारात्मक छलफल
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बसेको तीन प्रमूख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनका बारेमा विषय केन्द्रित भएर छलफल गर्ने समझदारी गरेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरुबीच प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषा आयोग लगायतका विषयमा बूंदागत छलफल गरी साझा प्रस्ताव तयार पार्ने समझदारी भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए ।
तीनै शीर्ष नेता संविधानलाई कार्यान्वयनमा लान संविधान निर्माण गर्दाका बेलामा जस्तै सहमतिका साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।
सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै संशोधनको माग गर्दै आएका छन् । सरकारले गएको कात्तिक महिनाभित्र संसद्मा संशोधन प्रस्ताव दर्ता गर्ने वचन दिएको थियो ।