नेप्सेले पूरा गर्दैछ ‘हेड एण्ड शोल्डर’, परिसूचक एक महिनायताकै कम
साताको दोस्रो दिन ७ माघमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकमा घटेर ११६८.०६ अंकमा झरेको छ। ६ माघमा साढे ८ अंक घटेको नेप्से ७ माघमा थप १०.८६ अंक घटेपछि एक महिनायताकै सबैभन्दा न्यून विन्दुमा झरेको हो।
नेप्सेको रेखाचित्र विश्लेषणमा देखिएको ‘हेड एण्ड शोल्डर’ आकृति अब पूरा गर्ने दिशामा अघि बढेको देखिएको छ। ११६२ अंकभन्दा तल झर्यो भने यो आकृति पूरा भएर ‘ब्रेकडाउन’ शुरु हुन्छ। त्यसो भयो भने बजार थप घट्ने प्राविधिक आधार तयार हुनेछ।
शेयर बजारको कारोबार अवस्थाले पनि नेप्से बियरिश प्रवृत्तीबाट फर्किन नसकेको देखाउँछ। दैनिक व्यापारको प्रवृत्तीलाई केलाउने प्राविधिक औजार ‘एड्भान्स-डिक्लाइन (एडी) रेसियो’ ले यस्तो देखाएको हो। सोमवार नेप्सेको एडी रेसियो ०.२५ अंक छ। एडी रेसियो १ भन्दा कम भएको अवस्थालाई घट्दो बजार भन्ने गरिन्छ।
बजारमा महँगिएका कम्पनीको संख्यालाई सस्तिएका कम्पनीको संख्याले भाग गर्दा आउने परिमाण नै एडी रेसियो हो। सोमवारको व्यापारमा ११४ कम्पनीको शेयर मूल्य सस्तिए भने २८ कम्पनीको शेयरमात्रै महँगिए। बाँकी २४ कम्पनीको शेयर मूल्य अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा स्थिर छन्।
सोमवार गोर्खा फाइनान्सको शेयर मूल्य सर्वाधिक ४.८१ प्रतिशत महँगियो। गत साता सर्वाधिक महँगिने कम्पनी बनेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर सोमवार भने सर्वाधिक सस्तिने सूचीको पहिलो नम्बरमा परेको छ। सो कम्पनीको शेयर मूल्य ९.९३ प्रतिशत सस्तिएको छ।
कारोबारका आधारमा आकर्षक कम्पनीको सूचीमा भने तामाकोशी नै परेको छ। सोमवार कम्पनीको रु. १० करोड ९१ लखको शेयर व्यापार भयो।
सोमवारको बजारमा १६६ कम्पनीका १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु. ३६ करोड ७७ लाखमा किनबेच भयो। यस दिन वित्तीय संस्था (फाइनान्स) बाहेक सबै समूहगत परिसूचक ओरालो लागेपछि समग्र नेप्सेमा नकारात्मक प्रभाव परेको हो।